असाधारण काम गर्ने ९ व्यक्तिहरुको सुचीमा मिरा, पाइन् ‘गेम चेन्जर अफ द इयर’ अवार्ड


२५ आश्विन २०७५, बिहीबार
Mira rai award 2

काठमाडौं, २५ असोज । अल्ट्रा धाविका मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छन् ।

बुधबार न्युयोर्क शहरको लोअर म्यानहटनस्थित प्रसिद्ध रेस्टुरेन्ट सिप्रीयानीमा आयोजित एक समारोहमा मिरासहित एसियाका ९ व्यक्ति र संस्थालाई एशिया सोसाईटीले मीरालाई सम्मान गरेको हो ।

सधैं स्पोर्ट्स ड्रेसमा देखा पर्ने मीराले यसपल्ट सारीमा सजिएर सम्मान ग्रहण गरिन् । आयोजकले सम्मान हुनेहरुलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन ड्रेस कोड लागू गरेको थियो ।

मिरा असाधारण काम गर्ने ९ व्यक्तिहरुको सुचीमा परेकी हुन् । उनी अनेकौं कठिन बाधाहरु छिचोल्दै अदम्य साहसका साथ अनेकौं कीर्तिमानहरु कायम गरी विश्वका दशौं लाखलाई प्रेरित गरेकोले सम्मानित भएको सोसाईटीले जनाएको छ ।

सम्मानित हुनेमा मीरासहित पेप्सीकोका सीईओ इन्द्र नोयी, अफगान युवतीको रोबोटिक्स टिम, अस्ट्रेलियाली चिकित्सक मुन्जिद अल मुदरिस, थाइल्यान्डको थाम लुवाङ गुफाबाट किशोर फुटबलरहरूलाई उद्दार गर्ने टिम, चीनका वाङ सी, युद्धग्रस्त सिरियामा स्वयंसेवा गरिरहेका हाइट हेल्मेट्स र यसका प्रमुख रेड सालेह, ज्यानको बाजी लाएर जापानको न्युक्लियर दुर्घटनाको बेला काम गरेका हिरोज अफ फुकुसिमा, जेरुसेलममा एकता फैलाइरहेका सांगीतिक समूह ‘कुलुलम’ लाई यस वर्षको गेम चेन्जर अफ द इयर अवार्ड प्रदान गरिएको हो ।

पूर्व बालछापामार मीरा सन् २०१४ यता साहसिक दौडमा लागेकी छन । त्यसयता उनले थुप्रै राष्ट्रिय–अन्तर्रा्िष्ट्रय साहसिक दौडमा सफलता हात पारिसकिन् ।

उनले गत वर्ष नेसनल जियोग्राफीको ‘एड्भेन्चर अफ द इयर २०१६’ को अवार्ड पनि हात पारेकी थिइन । मीराले सन् २०१५ मा फ्रान्सको मोन्ट ब्लन्कमा ८० किलोमिटर दौडतर्फ विश्व किर्तिमान राखेकी छन् । गत वर्ष अमेरिकाको प्रसिद्द ‘आउटसाईड’ म्यागेजिनले कभर पेजका लागि विश्व चर्चित ४० महिलाको फोटो सेसन गरेकोमा मीरा पनि परेकी थिइन ।

उनी अहिले घुँडाको शल्यक्रियापछि पुनः दौडमा फर्किएकी छिन् भने गाउँगाउँका बालबालिकालाई साहिसक दौडमा सहभागिता अभियान नै चलाइरहेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७