५९ कर्मचारीको काम ९ जनाले सम्हाल्दै


२८ आश्विन २०७५, आईतवार
Karmachari 1 1

इलाम, २८ असोज । माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् ।

Karmachari 1 1

नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ ।

कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दै छन् । नगर प्रमुख दीपककुमार थेवेका अनुसार नगरमा तीन वटा वडामा सब ओभरसियरले काम गरेका छन् ।

नगरका अरू वडामा समेत वडा सचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडा सचिवको काम गर्नुपर्ने स्थिति छ ।

‘कर्मचारी एकदमै अभाव भएपछि एउटै कर्मचारीले तीनतिर काम गर्दै हुनुहुन्छ । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ’, नगर उपप्रमुख विष्णुमाया रिमालले भनिन्, ‘नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन ।

धेरैतिर कर्मचारी माग पनि गर्‍यौँ तर कतैबाट पहल भएन ।’ रिमालका अनुसार कार्यालयमा दरबन्दी भन्दा एक चौथाइ कम मात्र स्थायी दरबन्दीका कर्मचारी मात्र नगरमा छन् ।

नगरपालिकामै पनि ५९ को दरबन्दीमा नौ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । रिजालका अनुसार कार्यालयमा प्रशासनमा एक, महिला चार र लेखा कार्यालयमा दुई कर्मचारी छन् । नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।

नगर प्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृत समेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ । थेवेले नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवा प्रवाहमा समेत समस्या भएको बताइन् ।

‘हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्ति गरेका छौं’, उनले भनिन्, ‘त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७