‘चङ्गा चेट’ की नायिका नक्कली नोटको कारोबारी !
काठमाडौं, १४ कातिक । अभिनेत्री सुरक्षा पन्त सबैको मन जितेकी अभिनेत्री हुन् । उनको अभिनयले धेरैको मन खिच्ने गरेको छ । उनको अभिनय क्षमतालाई देखेका हामी सबैलाई उनको एउटा नयाँ रहस्यले चकित बनाउने छ ।
उनी नक्कली नोटको कारोबारी समेत भएको खुलेको छ । तर, उनको यो कारबार रियल नभएर रिलको हो । पछिल्लो चलचित्र ‘चङ्गा चेट’ मा उनले विगतको भन्दा फरक ‘नक्कली’ नोटको कारोबारीको भूमिका निर्वाह गरेकी छन् ।
उनको नयाँ चलचित्र ‘चङ्गा चेट’ १६ कात्तिकबाट देशव्यापी प्रदर्शन हुँदैछ । यतिबेला यी अभिनेत्री यो चलचित्रको भूमिकाप्रति निकै उत्साहित छन् ।
विगतमा नायिकाको भूमिका निर्वाह गर्दै आएकी सुरक्षाले यस पटक खल चरित्र निर्वाह गरेको बताएकी छन् । चलचित्र चङ्गा चेटमा खल चरित्र निर्वाह गर्नुको कारणबारे यी अभिनेत्रीले भनिन्, ‘फिल्मको कथा अनुसार नक्कली नोटको कारोबारमा पर्ने चार जनामध्ये तीन जना पुरुष (अभिनेता) र एक जना महिला म छु ।’
नक्कली नोटको कारोबारीको भूमिका निर्वाह गर्नुको कारणबारे यी अभिनेत्री भनिन्, ‘नक्कली नोटको कारोबारमा बेलाबेलामा पुरुषसँगै महिला पनि पक्राउ परेको सुन्दै आएकाले यस पटक त्यो भूमिका म आफैंले निर्वाह गरेकी हुँ ।’
सुरक्षाको भनाइमा समाजमा बढीजसो अपराधीका रूपमा पुरुषलाई नै देखिने गरेको छ । महिला पनि त्यत्तिकै अपराधी हुँदाहुँदै पनि पुरुष नै बढी अपराधी हुन्छन् भन्ने मानसिकता मानिसहरूको छ ।
तर, महिलाहरू पनि त्यत्तिकै अपराधी हुन्छन् भन्ने तथ्यलाई आफ्नो भूमिकाले प्रस्ट्याउने पनि यी अभिनेत्रीले बताएकी छिन् । ‘महिलाहरू अपराध गर्नमा कम छैनन् भन्ने धेरै घटनाले प्रस्ट्याइसकेको छ, त्यसैले मैले सहजै यसपटक चलचित्र चंगा चेटमा अपराधी महिलाको भूमिका निर्वाह गरेकी हुँ ।’
अभिनेत्री सुरक्षा पेसाले इन्जिनियर भए पनि पछिल्लो समय चलचित्रमा नायिकाका रूपमा व्यस्त छिन् । चलचित्र चङ्गा चेटका निर्देशक दीपेन्द्र के खनालकै अघिल्लो चलचित्र धनपतिमा पनि सुरक्षा नै नायिका थिइन् ।