३७ नेपाली चेलीको भारतमा उद्धार, तीन जना कोठीका पनि, एक चेलीबाट दलाललाई ४ लाख
नेपालगञ्ज, १९ कात्तिक । भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीको उद्दार गरिएको छ । उनीहरुलाई बेच्न लागिएको अवस्थाबाट जोगाइएको छ ।
अन्य तीन जना चेलीलाई दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन् ।
३७ चेलीलाई गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो ।
दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलाई माइती इण्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगाएको छ ।
माइती इण्डियाका सञ्चालक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालाई नेपालस्थित भारतीय दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो ।
उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ ।
उद्दार गरिएका घर जान चाहने चेलीलाई घर पठाउने र जान नचाहने चेलीलाई सिपमुलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए।
उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ । एक नेपाली चेली भारतको कोठीमा पुर्याए बापत गिरोहले चार लाख लिने गरेको उद्दारकर्मीहरुले जानकारी दिएका छन् ।
गिरोहका नाइके भारतीय
नेपाली चेली भारतको कोठीमा पुर्याउने गिरोहका नाइके भारतीय रहेको खुलेको छ । नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको छन् ।
गिरोहका दुई नेपाली सदस्य फरार छन् । उनीहरुमध्य एक जना काठमाडौंमा र अर्का दुबइमा रहेको बताइएको छ । गिरोहका नेपाली सदस्यलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ ।