जुम्ला जान १५० विशेषज्ञ चिकित्सकले निवेदन हाले


२४ मंसिर २०७५, सोमबार
karnali swsthya bigyan pratistha 1

काठमाडौं, २४ मंसिर । ‘दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्’, भन्ने आम बुझाइ छ ।

karnali swsthya bigyan pratistha 1

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुवात गरेको छ ।

सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल, हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ । ‘सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न पठाएको हो । आगामी दिनमा प्रतिष्ठान र अस्पतालसित सहकार्य गरी अगाडि बढ्ने छ’, प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भने ।

हाल प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत छन् । छिट्टै प्रतिष्ठानले एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापनका लागि चिकित्सा विधाका विभिन्न सङ्काय (फ्याकल्टी) कमिटी गठन गर्नेक्रम रहेको हुँदा १५० विशेषज्ञ चिकित्सकले जुम्ला जान निवेदन दिएका जनाएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थित माथि उकास्न सरकारले विसं २०६८ मा जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो ।

प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पुर्‍याई सेवा शुरुवात गरेको थियो ।
विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो ।

गाभिँदा १०० शैंयाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । एमबिबिएस र एमडिजिपी तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य लगभग पूरा गरेको उपकुलपति प्रा डा वाग्लेले जानकारी दिए ।

प्राडा गोविन्द केसीले आफ्नो पटक पटकका अनशनमा प्रतिष्ठानमा एमबिबिएस तथा एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्न माग गर्दै आएका छन् । नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानले ती दुई तहका अध्ययन अध्यापन शुरुआत गराउन गरेका कामका बारेमा हालै स्थलगत अध्ययन पूरा गरी काउन्सिलको बोर्ड समक्ष प्रतिवेदन समेत बुझाएको छ ।

काउन्सिलका उपाध्यक्ष चिकित्सक नारायणविक्रम थापासहित नौ सदस्यीय टोलीले अध्ययन गरेको टोलीमा संलग्न चिकित्सक ढुण्डिराज पौडेलले जानकारी दिए । टोलीमा सहभागी एक चिकित्सकले भने, ‘एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।’

प्रतिष्ठानका एमडिजिपी कार्यक्रमका संयोजक डा तरुण पौडेल भन्छन्, ‘अब एमडिजिपी तह अध्ययन गराउन काउन्सिलको स्वीकृति-अनुमतिपत्रको पर्खाइमा छौँ, पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा रहेको छ ।’ उनका अनुसार दुर्गम क्षेत्रमा चिकित्सक जनशक्ति पुर्‍याउन एमडिजिपी तहको अध्ययन अध्यापनले कोशेढुङ्गाको काम गर्छ ।

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि तथा स्वास्थ्य र बेहोस पार्ने (ऐनेस्थसिया) सहायक अध्ययन अध्यापन गराइरहेको छ । चालू शैक्षिक सत्र विसं २०७५–०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुवात गराउन प्रवेश परीक्षा सम्पन्न भएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताउँछन् ।

सो कार्यक्रमका संयोजक प्रा डा शेषानन्द सञ्जेल कर्णालीवासीले स्वास्थ्योपचार घर आँगनबाट पाउनका लागि जनस्वास्थ्य विषयको अध्ययन शुरुआत गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७