कालोमोसोले नारायणकाजी श्रेष्ठ विवादमा


२५ मंसिर २०७५, मंगलवार
Narayan Kaji Shrestha 1

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको ‘भ्रष्टाचारीलाई जहाँ भेटिन्छ त्यही कालोमोसो दल्नुपर्ने’ भनाइ विवादमा परेको छ ।  सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले राज्यको हरेक निकायमा थामिनसक्नु भ्रष्टाचार मौलाएकाले भ्रष्टचारीलाई कालोमोसो दल्न विद्यार्थीलाई निर्देशन दिएका थिए ।

Narayan Kaji Shrestha 1 800x450
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

उनले भने ‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ ।’ प्रवक्ता श्रेष्ठको अभिब्यक्ति पदअनुसार शोभनीय नभएको टिप्पणी हुन थालेको छ । भ्रष्टाचार नियन्त्रण गर्न विद्यमान कानुन छ । तर नेता श्रेष्ठले कालोमोसो दल्ने भावुक अभिब्यक्ति दिएका छन् ।
नेता श्रेष्ठको निर्देशन भन्दै कसैले मन नपरेकालाई कालोमोसो दल्न थाल्ने हो भने के हुन्छ ? उनको यस्तो अभिब्यक्तिलाई जिम्मेवार नेताको पदीय मर्यादा विपरीतको अभिब्यक्तिका रुपमा लिइएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक संजाल फेसबुकमा प्रवक्ता श्रेष्ठको कथन शोभनीय नभएको उल्लेख गरेका छन् । 

surya
नेकपाका केन्द्रीय सदस्य सूर्य थापा

उनले लेखेका छन्–‘प्रवक्ताको कथन ! नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कालो मोसो दल्न आव्हान गरेको कथन दुई तिहाई बहुमतको सरकार संचालन गरिरहेको सत्तारूढ पार्टीलाई शोभनीय, पार्टीको संस्थागत निर्णय र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्तो भयो । यो भनाइ उहाँको मौलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएको वितण्डाकै प्रभाव र भावुकता मात्र हो । यसरी कालोमोसो दल्न आह्वान गर्न नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेको पाइन्छ ।

सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत् भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशोधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ । तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन । पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने योग्यता प्रदर्शन एवं जिम्मेवारीबोध गरेको बढी मर्यादित र शोभनीय हुन्छ होला ।’
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले दुखेसो समेत गरेका थिए । ‘आफ्नै पार्टीको सरकार छ, सरकारमा बसेकाहरु मौका नपाएका भाते जस्ता भएका छन् ।’ नेपालमा राजनीतिक फोहोर बढ्दै गएकाले सफाई आन्दोलन जरुरी भएको उनको भनाइ थियो ।
जताततै भ्रष्टाचार र व्यथिति छ । राजनीतिक क्षेत्र नै सबैभन्दा बढी भ्रष्ट छ । कहाँबाट शुद्धिकरण थाल्ने ?’ श्रेष्ठको प्रश्न थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७