घामड शेरे टिमले भन्यो,‘शेरबहादुर देउवा र ट्रोलसँग हाम्रो कुनै सम्बन्ध छैन’
काठमाडौं, २१ कात्तिक । यही शुक्रबारदेखि रिलिज हुन लागको सिनेमा घामड शेरे टिमले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई आफ्नो सिनेमाको नामसँग जोडेर बनाइएको ट्रोलमा आफनो सिनेमाको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
बुधबार राजधानीमा आकस्मिक पत्रकार सम्मेलन गर्दे सिनेमाले सामाजिक संजालमा बनेका ट्रोलप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यसप्रति आफ्नो कुनै समर्थन नरहेको जनाएको छ ।
सिनेमा निर्माण कम्पनी बिसी मोसन पिक्चर्सले कथाको मुख्य पात्र शेरेको चरित्र, व्यवहार र कार्यशैलीसमेत राजनीतिक व्यक्तित्वसँग मेल नखाने समेत स्पष्ट पारेको छ ।
यसका साथै कम्पनीले राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वहरुमा पर्न गएको असर र असुविधा प्रति पनि माफी मागेको छ । चलचित्र सामाजिक संजाल प्रयोगकर्तालाई यस्तो काम नगर्न पनि आग्रह गरिएको छ ।
केही दिनअघि अभिनेता आसिफ शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको तस्वीरसँग जोडेर सिनेमाको सफलताला कामना गर्दे पोष्ट गरेपछि तरूण दलले आपत्ति प्रकट गर्दै विरोध गरेको थियो ।
हेमराज बिसीको लेखन, निर्देशन र कथामा निर्माण भएको सिनेमामा चलचित्रको शिर्ष भूमिकामा कलाकार निश्चल बस्नेतले काम गरेका छन् । चलचित्रमा एउटा खोलाको लागि मुद्दा हाल्ने पात्रको भूमिकामा निश्चललाई देखाइएको छ ।
चलचित्रमा नायिका स्वस्तिमा खड्का, कलाकार सुष्मा निरौलाको साथमा नायिका गौरी मल्लको विशेष भूमिका छ । हेमराज वीसी र सिमोस सुनवारको लगानीमा तयार भएको चलचित्रमा निश्चललाई जे कुरामा पनि फरक र जिद्दी व्यवहार देखाउने पात्रको रुपमा देखाइएको छ । नायिका स्वस्तिमा खड्का भने चलचित्रमा निश्चलकी सालीकी भूमिकामा देखिएकी छिन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ ।