इपिएलको फाइनल समिकरण पुरा, ललितपुर माथि भैरहवाको रोमाञ्चक जित
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल समिकरण पुरा भएको छ । भैरहवा ग्लाडियटर्स विहीबार कीर्तिपुरमा भएको रोमाञ्चक खेलमा ललितपुर प्याट्रियर्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङबाट प्रेरित ललितपुरले ३ विकेटले पराजित गरेको हो । भैरहवाको सुरुवात औसत रह्यो । १३३ रनको लक्ष्य पछ्याएको भैरहवालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । रोहितले दिपेश भण्डारीको पहिलो र दोश्रो बलमा लगातार दुई छक्का प्रहार गर्दै खेल भैरहवाको पक्षमा पारेका थिए । तेश्रो बलमा एक रन जोड्दै रोहितले तीन बल अगावै भैरहवाको जितलाई औपचारिकता दिएका थिए।ललितपुरका ललित राजवंशी र पवन श्राफले २÷२ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले सुरुवात राम्रो गरेको थियो । शंकर राना र कोल्सावालाले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । कोल्सावाला ४२ रनमा आउट भएपछि ठूलो साझेदारी हुन सकेन र २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउन सक्यो । उसका लागि सन्नी पटेलले २४, दिनेश भण्डारीले २२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडेका थिए । भैरहवाको पुनित मिश्रले २ र भुवन कार्की, आरिफ शेखले समान एक एक विकेट लिए ।
यसअघि लिग चरणको खेलमा पनि भैरहवाले ललितपुरलाई पराजित गरेको थियो। शनिबार हुने फाइनलमा भैरहवाले विराटनगर वारियर्सको सामना गर्नेछ।