उभौली लाग्नेछ
मेरो शिरमाथि
उदाएको सूर्य
एक स्वर्णिम बिहानी लिएर
आदिवासी बस्ती हुँदै
चोइटिएर बचेको एक टुक्रा समय
ब्युझाउन आइपुगेको छ
वसन्तले वैशाखलाई हुर्काएर
जेठलाई काखी च्यापेको बेला
सभ्यताको उदंगम, यो भूमिमा
मुलवासी लवजमा
साकेला शिली नाचौन
सोइ सोई ला हो, सोई सोई ला
यो उभौलीमा
कर्याङ्कुरुङ्को खुट्टामा बाँधेर
विभेद विरोधी आवाजहरू
उभो धकेलेको छु
आशा छ सर्वमान्य चोमोलोङमा
गुराँसको थुङ्गासँगै
सच्चा नायक पठाउनेछ
हेङखमा रोपिनेछन्
समावेशी आवाजहरू
निनाम्माले चुहाउनेछ
खुसीको आँसु
अनि यो देशले
आँखा अगाडि पाउनेछ
आफ्नो सफा चित्र
पहिचानी ढोल र झ्याम्टाबाट
निस्किनेछ
खदिलो अस्तित्व बाचेको धुनहरु
फुल्नेछ निष्फिक्री
थोम्पाबुङ लिम्चिङबुङ
बिना सङ्कोच पाक्नेछ
तीनचुलामा वाचिपा
मेरो केशबाट उडेर
आकाशमा छिपिन पुगेको जून
जुनेली रातमा
मुन्धुम फलाक्दै
हामीले जन्माउने दिनहरू
कसैगरी असफल नहोउन भनेर
बोलाई पुर्खाहरुलाई सम्खामाङ्मा
चढाएर सोलेवा भरी धैर्यता
सट्टामा आत्मवल जाग्नेछ
अब भने
पक्का उभौली लाग्नेछ ।