एमाले आयोग जाँदै, कुरा मिलाउँदै माओवादी केन्द्र
काठमाण्डौं :सरकार गठनका लागि केहि दिनअघिसम्म नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीसामु बुझाएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी अध्यादेश अड्को बनेको थियो ।
तर, धेरै गलफतीबीच राष्ट्रपति भण्डारीले ध्यादेश जारी गरेपछि सरकार गठनको गाँठो फुकेको अनुमान गरिएको थियो । तर, अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगले फेरि अडान राख्न थालेपछि सरकार गठनको प्रक्रिया पछि धकेलिंदै गएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबार प्रतिनिधिसभा निर्वाचन र प्रदेश प्रमुख नतोकिएसम्म समानुपातिक सिट निक्र्योल नहुने बताएपछि सरकार गठन प्रक्रिया झन अन्योलमा परेको छ । यहि अन्योलतालाई चिर्न र सरकार गठनको प्रक्रिया शुरु गर्ने वातावरण मिलाउन एमाले नेताहरु आज दिउँसो निर्वाचन आयोगको कार्यालयमा छलफलका लागि जाने भएका छन् ।
नेकपा एमालेले आज अपरान्ह ३ बजे कान्तिपथस्थित निर्वाचन आयोग मुख्यालयमा गई आयोग पदाधिकारीलाई भेट गर्ने भएको छ । एमालेले जनताको जनादेश रोकेको भन्दै संविधानको मर्मअनुसार अघि बढ्न आयोगको ध्यानाकर्षण गर्न लागेको हो । निर्वाचन परिणाम घोषणालगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाइका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको हो । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरी टुंग्याउन ढिलाइ गरेको एमालेको आरोप छ । समानुपातिक सिट बाँडफाँट नगर्दा सरकार गठनमा पनि ढिलाइ भएको एमालेको आरोप छ ।
यता माओवादी केन्द्रको विस्तारित बैठक आज विहान ११ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्दैछ । बैठकमा एमालेसँगको पार्टी एकता प्रक्रिया, जिम्मेवारी बाँडफाँट तथा नयाँ सरकार गठनलगायत विकसित राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार, बैठकमा राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछिको अघि बढेको राजनीतिक कोर्ष र त्यसमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा छलफल हुने जनाइएको छ ।
माक्र्सवाद र समाजवादका आधारमा एकता हुन्छ :नारायणकाजी
वाम एकताका सैद्धान्तिक आधार सामाजिक न्याय र सन्तुलित वितरण प्रणाली हुनुपर्नेमा जोड दिइएको छ । नेपाल अध्ययन केन्द्रले आयोजना गरेको अन्तक्रियामा सहभागी वक्ताले सामाजिक आर्थिक रुपान्तरण नै कम्युनिष्ट मान्यता भएकाले त्यसलाई एकताको आधार बनाउनुपर्ने सुझाइएको हो । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दुवै दलको पृष्ठभूमि विशिष्ट रहेको बताउँदै आगामी दिनमा एकताको प्रमुख आधार माक्र्सवाद, नेपाल कम्युनिष्ट पार्टी र समाजवाद बनाएर सामाजिक विकासको लक्ष्य प्राप्ति गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले विगतमा कम्युनिष्टले सामन्ती वर्गको अन्त्यका लागि संघर्ष शुरु गरेको भए पनि नेपाली परिवेशमा त्यो विश्लेषण पूरानो भएको बताउँदै श्रमजीवि र मध्यम वर्गको सुरक्षाका लागि राष्ट्रिय पूँजीको विकास गर्ने कार्यदिशा एकताको आधार बनाउनुपर्ने बताएका छन् ।