खोटाङको हलेसीमा भीषण आगालागी, अझै नियन्त्रण बाहिर
काठमाडौं : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भीषण आगालागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आगालागी मंगलबार साँझ करिब साँढे ७ बजेदेखि शुरु भएको नगरका कार्यकारी अधिकृत अनिल किराती जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।
आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ । भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ ।
आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिकाबाट दमकल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए ।
दिक्तेलबाट दमकल आइपुग्न कम्तिमा दुई घण्टा लाग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारबाटै आगलागी शुरु भएकाले हलेसीवासीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए।
आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ । अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।