चीनकाे ‘केरूङ च्छो’ फुट्न सक्ने, बाह्रबिसे बजारसहित भोटेकोशी किनारको बस्ती छाड्न आग्रह
काठमाडौं, ५ असार । अविरल वर्षातको कारण खासास्थित ‘केरूङ च्छो’ नामको पोखरी फुट्ने सक्ने चीनले चेतावानी दिएको छ ।
चीनले उक्त हिमताल भरिएको र फुटने सक्ने सम्भावना रहेकोले जानकारी पछि सिन्धुपाल्चोकको बाह्रविसे बजारसहित भोटेकोशी किनारका बस्ती छोड्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।
चिनियाँ पक्षले हिमताल भरिएको र जुकसुकै बेला पनि फुट्ने सक्ने चेतावनी दिएपछि भोटेकोसीमा जुनसुकै बेला पानीको बहाव अत्याधिक रुपमा बढ्न जाने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
ताल फुटे भोटेकोसी किनारमा रहेको भोटेकोसी गाँउपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहका बस्तीहरु बगाउन सक्ने र ठूलो क्षति र्पुयाउन सक्ने सम्भावना देखिएको जिप्रका सिन्धुपाल्चोकले जनाएको छ ।
न्यालम क्षेत्रमा अत्याधिक रुपमा वर्षा भएपछि उक्त ताल भरिएको र फुट्ने सक्ने सुचना चीनको समकक्षी दोभाषेमार्फत जानकारी प्राप्त भएको प्रशासनले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोसी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छाडेर सुरक्षित स्थानमा जाने व्यवस्था मिलाउन जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकलाई अनुरोध गरेको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले यदी केरुङ च्छो पोखरी फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुने बताए । उनले नदी आसपासका बासिन्दालाई किनार भन्दा माथितिर आएर बस्न आह्वान गरिएको बताए ।