अपराजित एस्टन भिल्लाको संघर्षपूर्ण जित
काठमाडौं, ३ कार्तिक । अपराजित एस्टन भिल्लाले प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित हात पारेको छ । आइतबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो ।
लेस्टर सिटीको घरेलु मैदान किंग्स पावर स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा भने पाहुना टोलीले गोल गर्दै साँघुरो जित निकाल्यो ।
एस्टन भिल्लाको जितका लागि रोज बाक्र्लीले खेलको एक मात्र निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा म्याकगिनको पासमा गोल गर्दै पाहुना टोली एस्टन भिल्लालाई १–० को जित दिलाएका हुन् ।
यसअघि ६१ औं मिनेटमा घरेलु टोली लेस्टर सिटीले पेनाल्टी क्षेत्र नजिकै फ्रि–किकमा गोल पेस्टमा गरेको सोझो प्रहार एस्टन भिल्लाका गोलरक्षक मार्टिनेजले बचाउँदा सिटी अग्रता दिनबाट चुकेको थियो ।
यस जितसँगै एस्टन भिल्लाले चार खेलमा अपराजित रहँदै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, पाँच खेल खेलेको सिटी भने ९ अंकसहित चौथो स्थानमा छ ।