हङकङमा प्रजातन्त्रवादी सांसदहरूले दिए सामुहिक राजीनामा
हङकङ, २७ कार्तिक । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामुहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो । त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामुहिक राजीनामा दिएका हुन् ।
सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलो पटक विपक्षी आवाजबिहीन भएको हो । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।
चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । एजेन्सी