कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या
काठमाडौं, १४ माघ । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण शुरु भएको झण्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान शुरु गर्दैछ । ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन् । यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट शुरु गरिँदैछ ।
‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन । कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ । जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, अल्छी लाग्ने, कमजोरी महसुस हुन सक्छ । खोप लगाएको ठाउँमा दुख्न सक्छ ।
डाबर देखिन सक्छ । ती असर केही समयपछि आफैं हराएर जाने हुन्छ’, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले भने, ‘कतिपय अवस्थामा यदाकदा औषधि पनि आवश्यक देखिन सक्छ । केही असर देखिए पनि आत्तिनु पर्दैन ।’
परिषद्ले खोप भण्डारण, ढुवानी, खोप लगाउँदा र लगाइसकेपछिको प्रभावबारे निर्देशिका बनाएर अनुसन्धान गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ अस्पताल र १ सयभन्दा बढी खोप केन्द्रमा खोप लगाइने जनाएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बुधबार ६५ भन्दा बढी जिल्लामा एकसाथ खोप लगाउन थालिने बताए । मुलुकभर ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी सातवटै प्रदेशमा खोप ढुवानी भइसकेको डा. गौतमले बताए । काठमाडौंमा सरकारी र निजी गरी ११ वटा ठूला अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट