शवदाह गृह बिग्रिँदा…
काठमाडौं, २९ बैसाख । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो । तर, दुईटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ । शवदाह गृहको एउटा मेसिन बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ । प्रक्रिया पुर्याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ ।
दैनिक ७५–८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन। एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ । शव एकैचोटी ५–६ देखि १५ वटा आउने गछ । त्यहाँमाथि भएन तीन–चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्यो अरू चिता बनाएर । अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए । आज करिब ७९ वटाका लागि खबर आइसक्यो । यत्रो शव दुइटा मेसिनले मात्रै कसरी जलाउन सक्नू ?’
उनका अनुसार शव बाहिर जलाउँदा पनि पूरै सावधानी अपनाउनु पर्छ । ‘दाउरा र मेसिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं’, उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म जलाउने काम नै गरेका छौं । हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो । आएकोलाई त दाहसंस्कार गर्नै पर्यो ।’ संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए । ‘हामीले कसैबाट रकम लिएका छैनौं । कोभिड–१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो’, उनले भने ।
उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ । ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं । सेना र हामी मिलेर नै काम गरिरहेका छौं । सेनाको हेल्प डेस्क पनि छ । जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं । उहाँहरूले ल्याएर चितासम्म राखिदिनु हुन्छ’, उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ । चिता बनाउनेदेखि जलाउने काम हाम्रो मानिसले गर्छन् । भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन् । अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि ।’
उनले आर्यघाटमा शव जलाउँदा संक्रमण नफैलने बताए । अरू शव जलाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ । ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्यो’, उनले भने । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडिन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ । ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ’, अग्रवालले भने ।
आर्यघाटमा खुला ठाउँमा संक्रमितको शव जलाएको प्रसंगमा उनले भने, ‘जलाउने ठाउँको आधारमा कोरोना सक्रमित हुने भन्ने होइन। शव जहाँ जलाए पनि सुरक्षित तरिकाले जलाउन जरुरी छ । मृतकका आफन्त पनि सुरक्षित हुन जरुरी छ ।’
उनका अनुसार संक्रमितको शव प्लास्टिकमा प्याकिङ हुनु जरुरी छ । ‘आफन्तको माया लाग्यो, हाम्रो संस्कारअनुसार जलाउँछांै भनेर शवलाई प्लास्टिकबाट निकाल्न भएन । जलाउने कर्मचारी पनि पीपीई लाउने, सेनिटाइज गर्नेलगायतका कार्य गर्न जरुरी छ । जलाइसकेको शवको खरानी तथा धुवाँबाट पनि संक्रमण फैलन्छ भन्नु गलत सूचना हो’, उनले भने । अन्नपूर्ण पोष्ट दैनिकबाट