विश्वकप छनोट : नेपालमाथि जोर्डनको सहज जित


२५ जेष्ठ २०७८, मंगलवार
nepalvsjordan 4

काठमाडौँ, २४ जेठ । एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनको हातबाट सोमबार ३–० ले पराजित भएको छ । कुवेत सिटीको जबर अल–अहमद इन्टरनेसनल स्टेडियममा भएको खेलमा जोर्डनले नेपालमाथि सहज जित हात पारेकाे हाे ।

नेपालले ठूलो अन्तरको हार राेक्न भने सफल भएको छ । नेपालको लागि यो नतिजाले एसियाकप छनोट तेस्रो चरणमा प्रवेशका लागि गाह्रो भएको छ । जोर्डनलाई विश्वकप छनोटमा कायम रहन यो भन्दा ठूलो अन्तरको जित आवश्यक थियो । जितसँगै जोर्डनको ६ खेलमा १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ ।

आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ ।

जोर्डनका लागि फैसलले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । रोहित चन्दले मुसा अहमदलाई लडाएपछि जोर्डनले पेनाल्टी प्रहारको अवसर पाएको थियो । फैसलको पेनाल्टी प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूले सही अनुमान लगाए पनि त्यो प्रहार निकै शक्तिशाली रहेको थियो ।

फैसलले ४९ औं मिनेटमा फ्रिकिकबाट दोस्रो गोल गरे र यो भने उत्कृष्ट रह्यो । लगभग ३० यार्डबाट फैसलले गरेको शक्तिशाली प्रहार नेपालले तेर्साएको मानवीय पर्खाल र गोलरक्षक लिम्बूलाई ‘बिट’ गरेर गोलमा परिणत भएको थियो ।

नेपालले खेलको ५८ औं मिनेटमा तीन खेलाडी परिवर्तन गरेको थियो । नवयुग श्रेष्ठ, एरिक विष्ट र विशाल राई मैदान प्रवेश गर्दा पुजन उपरकोटी, सन्तोष तामाङ र दीनेश राजवंशीले बाहिरिएका थिए । आक्रामक परिवर्तन गर्दै नेपालले खेलमा फर्कने गरेको प्रयासले शुभ संकेत पनि देखाएको थियो । तर ५८ औं मिनेटमा मनिष र नवयुगले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रण गर्न नसक्दा नेपालले कुनै खतरा सिर्जना गर्न सकेन ।

खेलको ६७ औं मिनेटमा यजान अब्दुल्लाहको क्रसमा यजान अलअरबले हेडबाट तेस्रो गोल थपे । नेपाली गोलरक्षक तथा कप्तान किरणले खेलका क्रममा केही उत्कृष्ट बचाउ गरे । यसले जोर्डनलाई थप गोल गर्नबाट रोकेको थियो । नेपालले भने पूरा खेल अवधिमा जोर्डनविरुद्ध कुनै पनि बेला सटिक मान्न सकिने आक्रमण बुन्न सकेन । नेपालको तुलनामा जोर्डनका खेलाडी शारीरिक रूपमा बलियो र अग्ला थिए । यसले जोर्डनलाई स्पष्ट फाइदा पुगेको थियो ।

कुवेतको गर्मीमा नेपाली खेलाडीलाई खेल्न गाह्रो भएको पनि देखिएको थियो । खेलका क्रममा मैदानको तापक्रम ४१ डिग्री सेल्सियस रहेको थियो । त्यसैले प्रत्येक हाफमा ‘कुलिङ–ब्रेक’ को आवश्यकतासमेत परेको थियो । जोर्डनविरुद्ध नेपालले खेलेका चार खेलमा यो तेस्रो हार हो । यसपल्टको छनोटको पहिलो लेगमा नेपाल जोर्डनसँग ३–० ले नै पराजित रहेको थियो ।

नेपालले नयाँ प्रशिक्षक मोहम्मद अलमुताइरीको नेतृत्वमा खेलेको तेस्रो खेल रह्यो । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अर्को खेलमा जित हासिल गरेर अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । हार बेहोरेपनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९स्४५ सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७