बुहारीमाथि बलात्कार, घटना मिलापत्र गराउने जनप्रतिनिधि पक्राउ


१७ श्रावण २०७८, आईतवार
Rape for nayapage

रोल्पा, १७ साउन । रोल्पा प्रहरीले बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने एक ५१ वर्षीय पुरुषसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा सो घटना गाउँघरमै मिलापत्र गराएको आरोपमा सोही गाँउका वडा सदस्य हिमबहादुर बिष्ट समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन २ गते बिहान ३ बजेको समयमा घटनापश्चात् पीडित महिला कराएपछि ससुराले थाहा पाएका थिए । प्रहरीका अनुसार पीडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिमबहादुर बिष्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए ।

वडा सदस्यले गाउँमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए । साउन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भएको थियो । छलफलमा अभियुक्तले आफ्नो गल्ती स्विकार गरेका थिए । छलफलमा जुटेकाहरुले पीडकलाई बीसहजार रुपैँया जरिवाना तोके । जसमध्ये पाँच हजार पीडित महिलाको लागि र बाँकी पन्ध्र हजार रुपैयाँ गाउँको एक कुनै कोषको लागि छुटाउने समेत निर्णय भएको थियो ।

प्रहरीका अनुसार पीडितले पाउने ५ हजारमध्ये एक हजार बराबर छलफलमा जुटेकाहरुले चियापानी खाने भनी छुटाए भने पाँचसय पीडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने भयो । पीडितले त्यसै गरिन् तर उनले न्याय पाएको अनुभुति गरिनन् ।

उनले आफ्नो बाबालाई सबै घटनाको बारेमा बेलिबिस्तार लगाइन् । भोलिपल्ट साउन ४ गते प्रहरी समक्ष यो घटनाको सूचना पुग्यो । पीडितको जाहेरीका आधारमा अभियुक्त भनेका पीडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्‍यो ।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडा सदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ । अन्य ससुरासहित तीन जनालाई ३० हजार धरौटी ४ जनालाई ६० हजार धरौटी लिएर छोडिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७