रियललाई बार्सिलोनाले हरायो
पेरिस । बार्सिलानोले प्रि-सिजन तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा आफ्नो पारम्परिक प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई १-० ले हराएको छ । अमेरिकाको लस भेगासमा भएको खेलमा बार्सिलोनाका लागि राफिन्हाले २७ औं मिनेटमा निर्णायक गोल गरे । यसै सिजन मात्र बार्सिलोना आएका उनको यो प्रि-सिजनको दोस्रो व्यक्तिगत गोल हो ।
नयाँ सिजनको तयारीका क्रममा दुवै स्पेनी ला लिगा टिम अमेरिकामा छन् । अमेरिकामा भ्रमणमै रहेका दुई लन्डन क्लबबीचको भिडन्तमा आर्सनल चेल्सीमाथि ४-० को जित निकाल्न सफल रह्यो । आर्सनलका लागि ग्याब्रिएल जिसस, मार्टिन ओडेगार्ड, बुकाया साका र अल्बर्ट सम्बीले गोल गरे ।
यस्तै म्यानचेस्टर सिटीले अर्को मैत्रीपूर्ण खेलमा बायर्न म्युनिकलाई १-० ले पराजित गर्यो । अमेरिकामै भएको खेलमा सिटीको जितमा इर्लिङ हलान्डले १२ औं मिनेटमा निर्णायक गोल गरे । नयाँ सिजनका लागि हल्यान्ड बोरुसिया डर्टमुन्डबाट सिटी आएका हुन् । शनिबार रातिको एक अर्को मैत्रीपूर्ण खेलमा टोटेनहमले रेन्जर्सलाई २-१ ले हरायो । दुवै गोल ह्यारी केनले गरे । एएफपी