देउवाले एकलौटी गरेको भन्दै शेखर समूहले सानेपामा धर्ना दिंँदै
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाएको भन्दै नेपाली कांग्रेस शेखर कोइराला समूहले धर्ना दिने भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो धर्नाको कार्यक्रम आयोजना गरिएको सो समूहका एक नेताले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीमा मनोमानी गरेको र बन्दसूचीमा सल्लाह नै नगरी नाम पठाएको संस्थापन इतरको आरोप छ । शेखर समूहले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने माग अघि सारेको छ । आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ ।
यसअघि मंगलबार कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीभित्रको सहमतिबाटै बन्दसूचीमा नाम पठाइएको बताएका थिए । आज बिहान बालुवाटारमा शेखर समूहको माग सम्बोधन गर्न कांग्रेस पदाधिकारीबीच छलफल भएको थियो ।