विकासको विम्ब अर्थात् विष्णु पौडेल
रुपन्देहीलाई विकासको ‘रोल मोडल’ बनाउने मार्गचित्र बोकेर चुनावी मैदानमा विष्णु पौडेल
नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेललाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘काम गर्ने नेता ।’ ‘काम गर्ने नेता’को रुपमा उनको परिचय आफ्नो पार्टीका नेता तथा कार्यकर्तामा मात्रै होइन, उनको जिल्ला र जिल्लाबासीमा पनि उस्तै छ ।
बुटवलमा स्थायी बसोबास गरिरहेका प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवाली लेख्छन्, ‘रुपन्देहीका सबै विकासे पूर्वाधारका सूत्रधार हुन्, विष्णु पौडेल । यिनी मुलुकको राजनीतिक नेतृत्वमा राष्ट्रिय नेताको उचाइमा छन् । यिनको पहलमा भएका विभिन्न विकास परियोजनाबाट रुपन्देही क्षेत्र–२ को मात्र विकास भएको छैन, सम्पूर्ण रुपन्देही, सम्पूर्ण लुम्बिनी र यसबाट प्रभावित हुने सम्पूर्ण प्रभाव क्षेत्रको विकासमा योगदान पुगेको छ ।’
पौडेलेको पहदकदमीमा रुपन्देहीमा भइरहेको विकास निर्माणका काम देख्दा बाहिरबाट जानेहरूलाई पनि लाग्छ, ‘जनप्रतिनिधि त विष्णु पौडेलजस्तो होस् ।’ विकासका दृष्टिले रुपन्देहीलाई देशकै नमुना जिल्ला मान्न सकिन्छ । यो विकासको सूत्रधार पौडेल भएको रुपन्देहीका पत्रकार प्रदीप आचार्य बताउँछन् ।
त्यसो त, पौडेल यस क्षेत्रका साझा नेता पनि हुन् । राप्रपा नेता तथा पूर्वगृहमन्त्री निरञ्जन थापा विष्णु पौडेललाई विकासको प्रतीक मान्छन् । पौडेलले रुपन्देहीमा सुरु गरेको शृंखलाबद्ध विकास सबै जनप्रतिनिधिका लागि पनि अनुकरणीय छ । रुपन्देहीमा उनले सुरु गरेका कामको सूची र शृंखला हेर्दा भन्न सकिन्छ, ‘विष्णु मोडलमा हरेक जनप्रतिनिधिले जिल्लाको विकासका लागि पहलकदमी र नेतृत्व लिने हो भने देश बदल्न र बदलिन समय लाग्दैन ।’
४ मंसिरमा हुने आमनिर्वाचनमा रुपन्देहीको क्षेत्र– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पौडेलले विकासको महत्वाकांक्षी उडान नै सुरु गरेका छन् । विगतमा गरेका कामको लामो सूची र अब गर्ने विकासको मार्गचित्र बोकेर उनी अहिले जनताको घरआँगनमा पुगिरहेका छन् ।
विकासमा विष्णु : ‘रोल मोडल’को प्रयास
पौडेल पटक–पटक मन्त्री भए । विगत दुई पटक अर्थमन्त्री भए । त्यसबेला सुरु गरेका दर्जनौं आयोजनाका कारण उनलाई विकासको प्रतीक मानिएको छ । रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको काम सम्पन्न भएर सञ्चालनमा आएको छ ।
रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अगुवाइ उनै विष्णुले गरेका हुन् । सुरुमा अवधारणा निर्माणदेखि, ज्ञापनपत्र बुझाउने हुँदै बजेट विनियोजनसम्मको कामको अगुवाइ उनलै गरेका हुन् । बुटवल रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएर सञ्चालनमा आएको छ । २३ सय अट्ने क्षमताको यो सभा हल देशकै पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो । यो उनकै पहलकदमीमा सम्भव भएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्दसँगै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र धमाधम बन्दै छ । ५० प्रतिशत काम सम्पन्न भएको यो केन्द्रमा ८ सय बढी स्टल अट्ने क्षमता रहेको छ । १० हजार मानिसले एकसाथ अवलोकन गर्ने सक्नेछन् । बुटवल–बेलहिया ६ लेन सडक निर्माण भएको छ । भुमही–परासी–भैरहवा–लुम्बिनी–तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुल बनेका छन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ ।
बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर बनवाटिकामा बहुउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायत क्षेत्रमा अनेकौं पूर्वाधार निर्माण भएका छन् । सैनामैना चक्रपथ र बेलबास–बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ ।
दर्जनौं आयोजना धमाधम सञ्चालन भइरहेका छन् । राजमार्ग चौराहा–गोलपार्क सडक, कालिकापथ, बुटवल–नारायणघाट ६ लेन सडक, तटबन्धसहितको तिनाउ–दानव करिडोर सडक, लुम्बिनी गुरुयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डको स्तरोन्नति, तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडकलगायतका दर्जनौं आयोजनाको श्रेय पौडेललाई नै जान्छ ।
तिनाउमा सिग्नेचर पुल
मुलुकको प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्तरूप दिन नेपाली र विदेशी इन्जिनियरले अहिले धमाधम काम गरिरहेका छन् । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि अर्थमन्त्री भएका बेला पौडेलले बजेट विनियोजन गरेका थिए ।
तर देउवा नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ८ वटा पुलका लागि विनियोजित पैसा काटेर एउटा पुलका लागि मात्र रकम विनियोजन गरेका थिए । तर अर्थ मन्त्रालयका सचिवहरूले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पनाअनुसार सिग्नेचर ब्रिजको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि यसले निरन्तरता पाएको छ । यो पनि पौडेलकै सपनासँग जोडिएको परियोजना मानिन्छ ।
चार देश जोड्ने सडक सञ्जाल
नेपाल, बंगलादेश, भुटान र भारत जोड्ने गरी रोड कनेक्टिभ परियोजनाको काम पनि सुरु हुँदै छ । बुटवल–नारायणघाट एक्सप्रेस–वेका रूपमा काम सुरु भएको छ भने बुटवल–गोरुसिंगे–चन्द्रौटा खण्डको विस्तारका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ ।
पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै सार्कस्तरीय सडक सञ्जालमा जोड्ने सोचसहित रोड कनेक्टिभिटीको काम भइरहेको छ । यसले नेपालसहित भारत, बंगलादेश र भुटानका बीचमा सडक सञ्जाल जोड्नेछ ।
पौडलेले अर्थमन्त्री भएका बेला सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुदलगायतका दर्जनौं आयोजनाका लागि बजेट पठाए । यीमध्ये धेरैजसो सम्पन्न भएका छन् भने बाँकीको काम धमाधम भइरहेको छ । पौडेल यही तागतमा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेवार बनेका छन् । २० कात्तिक २०७९ मा उनले आफ्नो घोषणापत्र जारी गर्दै रुपन्देही विकासको मार्गचित्र पनि प्रस्तुत गरेका छन् ।
उनले भनेका छन्, ‘यो जिल्ला शान्त, सुरक्षित र विकसित हुँदै छ र सबैका लागि आकर्षणको थलो बन्दै छ । व्यक्तित्व निर्माण, पूर्वाधार निर्माण, पुँजी निर्माण र राष्ट्र निर्माणमा योगदान दिन चाहनेका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको छ । रूपन्देही जिल्लालाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउन चाहेका छौं । विकासको नमुना अर्थात् रोल मोडल बनाउन चाहेका छौं ।’
हेर्नुहोस् घोषणापत्र
पार्टीमा विष्णु : भावी नेतृत्वको दाबेदार
२०१६ मा स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल अहिले एमाले उपाध्यक्ष छन् । उनले २०३४ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०३४ देखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका पौडेललाई भावी नेतृत्वको दाबेदारको रूपमा हेरिन्छ । भूमिगत समय पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देहीमा पार्टीको संगठन विस्तारमा उनले महत्वपूर्ण भूमिका खेले । पञ्चायतकालमा जेलनेलसमेत भोगे ।
उनी २०३५ मा मालेको रूपन्देही क्षेत्रीय समिति सदस्य भए । २०३६ मा तत्कालीन नेकपा मालेको रूपन्देही जिल्ला सदस्य भए । भूमिगत रहेकै अवस्थामा २०३६ मा पक्राउ परेका पौडेल दुई महिनामै भैरहवा कारागार ‘ब्रेक’ गरेर पुनः भूमिगत राजनीतिमा फर्किए । पौडेल २०३९ देखि २०४६ सम्म अर्घाखाँची, पाल्पा र रुपन्देही जिल्ला कमिटी सचिव भए ।
२०४७ लदेखि पार्टीको केन्द्रीय सदस्य भए । यसपछि विभिन्न कमिटी र विभागको जिम्मेवारी सम्हाल्दै २०६५ को आठौं महाधिवेशनबाट पार्टी सचिव निर्वाचित भए । २०७१ को नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव र २०७४ मा नेकपाकालमा महासचिवको जिम्मेवारी पाए । २
०७८ मा सम्पन्न एमालेको दसौं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । २०५१ को मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभामा विजयी भए । २०६४ को पहिलो संविधानसभामा रुपन्देही–४ बाट सभासद् जिते । २०७० को चुनावमा सोही निर्वाचन क्षेत्रका डा. बाबुराम भट्टराईलाई चुनाव हराएर दोस्रो पटक सभासद भए । २०७४ को प्रतिनिधिसभा चुनावमा रुपन्देही–२ बाट सांसद भए ।
२०५३ मा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा तथा खेलकुदमन्त्री बनेका पौडेलले २०६५ मा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बने । २०७२ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा उनी अर्थमन्त्री बने । फेरि अध्यक्ष ओलीको दोस्रो कार्यालयमा पनि उनी अर्थमन्त्री भए ।
०००
पौडेल सबै पक्षसँग मिल्न सक्ने समन्वयकारी नेताका रुपमा स्थापित छन् । बाहिरी प्रचारभन्दा पनि काममा रमाउने नेता हुन्, उनी । रुपन्देहीलाई विकासको रोल मोडलबाट बनाएर देशभर आशा र विश्वासको प्रवाह गरेर त्यसकै बलमा नेतृत्वमा पुग्ने दौडमा छन्, पौडेल । उनले विगतमा गरेका काम र गर्न लागेका कामको सूची जनतालाई बुझाउन सके आगामी निर्वाचन उनका लागि सहज बन्नेछ । ‘रुपन्देहीबाट विकासको रोल मोडल सुरु गरेर देशभरि विश्वास जगाउने अवसर उनले पाउने छन् वा छैनन् ?’ त्यसका लागि ४ मंसिरलाई कुर्नुपर्नेछ ।