सरकारको नेतृत्वमा माओवादीको दावी स्वभाविक : देव गुरुङ
‘गठबन्धनको विकल्पबारे एमालेसँग कुनै छलफल भएको छैन’
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनबाटै सरकार गठनको प्रयास गरिने बताएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महासचिव गुरुङले गठबन्धन यथावत रहेकाले सरकार गठनको प्रयास गठबन्धनबाटै थालिने बताएका हुन् ।
महासचिव गुरुङले भने, ‘गठबन्धनका घटकहरूबीच कुराकानी हुन्छ । गठबन्धनकै प्रक्रियाबाट निर्वाचन भएकाले गठबन्धनको बैठक बस्नु पर्छ । भोलि गठबन्धनको आयोजना हुने भएको छ । गठबन्धनबाटै सरकार गठनको पहिलो प्रयास गरिने छ ।’ उनले नेकपा एमालेसँग गठबन्धनको विकल्पबारेमा कुनै छलफल नभएको बताएका छन् ।
गुरुङले भोलि (सोमबार) गठबन्धनको बैठक आयोजना हुने र गठबन्धनको चुनावी समीक्षा गरिने बताए । आजको बैठकमा पदाधिकारीहरूले मुलभूत रूपमा निर्वाचनबाट कतिपय सन्दर्भमा अपेक्षाकृत परिणाम नआए पनि मुलभूत रूपमा गठबन्धनको परिणाम ठीक भएको औंल्याएका थिए । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि सत्ता समीकरणमा अन्य विकल्प सोच्न सकिने बताएका थिए । उनले सरकारको नेतृत्वमा माओवादीको दावी स्वभाविक रहेको समेत बताएका छन् ।