रेशम–रञ्जिता वार्ता : हामी बुढाबुढीबीच सहमति भयो, बालुवाटारमा सँगै छौं

रञ्जिताको हातबाट जुस खाँदै रेशमले भने–लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौं


१५ बैशाख २०८१, शनिबार
resham and ranjita 3

काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच ‘मिलाप’ भएको छ । राजनीतिक मतभेदका कारण केही महिनादेखि एकअर्काको आलोचना गरिरहेका पति रेशम र पत्नी रञ्जिता त्यसयता पहिलो पटक सँगै देखिएका हुन् ।

आज (शनिबार) फेसबुकमा प्रोइफल पिक्चर समेत अपडेट गर्दै रञ्जिताले पति–पत्नीकै तस्बिर राखेकी छन् । नाउपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी अध्यक्ष समेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालबाट शेयर गर्दै पार्टीका संरक्षक चौधरीले अब लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका हुन् ।

Ranjita chaudhary resham

नाउपाका महासचिव ठाकुरसिंह थारुले अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच पार्टी र सरकारका विषयमा सहमति जुटेको बताए । उनले संरक्षक चौधरीले पार्टी चलाउने र अध्यक्ष श्रेष्ठले सरकार र संसदीय दल चलाउने समझदारी जुटेको बताए । ‘सरकार र संसदीय दल अध्यक्ष श्रेष्ठले चलाउनु हुन्छ । पार्टी रेशमले चलाउने गरी समझदारी बनेको छ । यसमा लिखित सहमति पनि हुन्छ,’ थारुले भने ।

रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि सञ्जालमा लेखेका छन् । तस्वीरमा रेशमलाई रञ्जिताले जुस खुवाइरहेकी छिन् । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’, रेशमले लेखेका छन् । लुम्बिनीमा नाउपाका चार र सुदूरपश्चिममा सात जना प्रदेश सांसद छन् । एक साताअघि मात्र रेशमले रञ्जितासँग लामो समयदेखि संवाद नभएको भन्दै उनी अरुबाटै परिचालित भइरहेको बताएका थिए ।

यसअघि २१ फागुनमा केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएकी थिइन् भने संरक्षक चौधरीले सरकारमै रहन निर्देशन दिएका थिए ।

विवादले उग्ररूप लिइरहेका बेला तत्कालीन कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा चौधरीनिकट पाँच जनै सांसद मन्त्री बनेका थिए । पछि केन्द्रमा ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच कुरा मिलेको थिएन । अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७