सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पौडेल र पोखरेलको इजलासमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा पेसी तोकिएको छ । उच्च अदालत पाटनमा न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो ।
यसअघि गत ७ पुसका लागि पेसी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेसी सरेको थियो । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
एक नाबालिग किशोरीमाथि बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए । पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेस गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।
दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो । यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए ।