सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा तस्करी चम्किदै


११ बैशाख २०७५, मंगलवार
yagya binod pokhrel copy

रौतहट, ११ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेपछि चिन्तित छन् । तर सीमा सुरक्षा कार्यालयको जिम्मा लिएको सशस्त्र प्रहरी नै तस्करहरुबाट लाभ लिएर भन्सारछली गरी सामान भित्र्याउन छुट दिइरहेको छ । भारतीय सीमा क्षेत्रबाट भन्सार र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको छ ।

yagya binod pokhrel copy
नेपाल प्रहरीका एसपी यज्ञविनोद पोखरेल र सशस्त्रका एसपी प्रेमराज पोखरेल ।

सरकारले चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई मुख्य जिम्मेवारी दिएको छ । यसैक्रममा दोस्रोपटक सीमा सुरक्षा कार्यालय रौतहटको प्रमुखमा सरुवा भएका एसपी प्रेम पोखरेलले जिल्लाका प्रत्येक नाकाबाट घुमुवा परिचालन गरी घुस असुली गर्दैआएका छन् । एउटै व्यक्तिलाई एउटै दर्जामा दोस्रो पटक उक्त रौतहटको सिसुका प्रमुख बनाएर सशस्त्रले घुस असुल्नकै लागि पठाएको टिप्पणी हुने गरेको छ ।
सशस्त्रका एसपी प्रेम पोखरेलले रामविश्वास यादव, उमेश सिंह र आत्माराम पटेललाई घुमुवा राखेका छन् । बीचमा धेरै नै गुनासो आएपछि गण, पोखरा, बुटवलमा पठाइएका ती घुमुवालाई १५ दिनअघि आइजीपी सिंहबहादुर श्रेष्ठ(अवकाश)लाई भनेर पुनः एसपी पोखरेलले रौतहटमा लगेर घुस असुलीमा लगाइसकेका छन् । आइजीपी श्रेष्ठले अवकाश हुने बेलामा एसपी पोखरेलले भनेअनुसार उनीहरुको सरुवा गरिदिएका छन् । उनी एसपी बढुवा हुनासाथ पनि यिनै घुमुवा राखी घुस असुली गरी कूस्त सम्पत्ति आर्जन गरेका थिए । एसपी भएपछि पदस्थापन रौतहट भएका एसपी पोखरेल त्यसपछि नवलपरासी सिसुका, तेस्रो सरुवा पाथीभरा गण र चौथो पटक पुनः रौतहटमै सिसुका प्रमुखका रुपमा सरुवा भएका हुन् । पोखरेल सशस्त्रमा सिसुका र गणमा मात्र सरुवा हुन पाउने भाग्यमानी एसपी हुन् ।
एसपी पोखरेलले रौतहटको बंकुल, रामपुरखाप, लक्ष्मीपुर नाकामा घुमुवा परिचालन गरी तस्करीको लाइन चलाउने गरेका छन् । सीमा सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीका दर्जनौं चौकी पार गर्दै रेडिमेड कपडा, मोटरपार्टस्, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका वस्तुहरू भारतीय बजारबाट नेपाली बजारसम्म भन्सार नतिरी निर्वाध रुपमा आउने गरेका छन् । भारतीय बजारको सामान बंकुल भएर दिपहीसम्म पुग्दा बाटोमा पर्ने दर्जनौ प्रहरी यूनिट भएर आउनुपर्छ । तर तस्करहरुस“ग हार्दिक सम्बन्ध भएकाले प्रहरी र सशस्त्रले देखेको नदेख्यै गर्दैआएका छन् ।
नेपाल प्रहरीका एसपी यज्ञविनोद पोखरेल र सशस्त्रका प्रेम पोखरेलको सेटिङका कारण अहिले रौतहटका नाका तस्करहरूको उर्बर भूमि बनेका छन् । प्रहरीतर्फका एसपी यज्ञविनोद पोखरेलले लामो समयदेखि बदनाम भइरहेका सई रुद्र कँडेललाई घुमुवाका रूपमा परिचालन गरेका छन् । कँडेल ९ बर्षदेखि रौतहटमा घुमुवा हुन् । उनी नेपाल प्रहरीका अकूत सम्पत्ति आर्जन गर्ने सईमा अग्रपंक्तिमा पर्दछन् । १८ महिनादेखि रौतहटमा कार्यरत यज्ञविनोदलाई बीचमा सरुवा गर्न खोज्दा एसएसपी विश्व पोखरेलको जोडमा प्रकाश अर्यालले रोकेका थिए ।
एसपी प्रेम पोखरेल सशस्त्रमा स्थापना हुनुअघि नेपाल प्रहरीमा सई थिए । नेपाल प्रहरीमा सई हुु“दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए, जुन बेला धु्रवबहादुर प्रधान आइजीपी थिए । त्यो समयमा एयरपोर्टबाट गाडीमै सुन ओसारपसार हुने गरेको थियो । सुन ओसारपसारमा प्रधानले विश्वासिला प्रहरीलाई एयरपोर्टमा खटाएका थिए । तिनैमध्येका थिए पोखरेल । उनले त्यहीबेला नै सुन ओसारपसारको घुसको हिस्साले गौशालाको पिंगलास्थानमा भब्य महल बनाएको भनेर उनका समकालीनहरुले अख्तियारमा उजुरी नै दिएका थिए । जुन बेला प्रहरीको डीएसपीले समेत काठमाडौंमा घर बनाउनसक्ने हैसियत थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७