कम्युनिस्टहरु राणा भन्दा डरलाग्दो शासन ल्याउने दाउमा छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले देशमा अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएको हो । राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उनले भने, ‘कम्युनिस्टले साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछ ।’
प्रधानमन्त्री देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको आरोप लगाएका छन् । उनले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि सबै प्रजातन्त्रवादीहरुलाई आह्वान गरे । वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै देउवाले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको बताएका छन् ।