वामपन्थी मिडियाले कांग्रेसलाई भ्रष्ट बनाए : गगन थापा
चितवन, १४ बैसाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वामपन्थी मिडिया र वुद्धिजीविहरूले कांग्रेस भ्रष्ट पार्टी हो भनेर भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले वामपन्थीहरुको यहि भ्रमको पछाडि जनता लाग्दा कांग्रेसको मत खुम्चिएको बताए । थापाले भने, ‘०४८ सालमा सबै कम्युनिष्ट दल मिल्दा पनि कांग्रेसको बहुमत आउँथ्यो । त्यो बेला ३३ प्रतिशतको हाराहारीमा मत ल्याएका कम्युनिष्टहरू ५५ प्रतिशतसम्म पुग्यो । ०६४ सालयता कम्युनिष्टहरू ३४ सय दिन र कांग्रेस २६ सय दिन सरकारमा बसेको छ । तर, देश बिग्रेको कांग्रेसले गर्दा हो भनेर जनताले सोच्छ । यो जनतामा परेको भ्रमले हो । योजनावद्ध दुष्प्रचार भएको छ,’ नेता थापाले भने ।
सरकारमा गएको दलको जनताले काम र छवि हेर्ने बताए । तर सरकारमा जाँदा कांग्रेसको छवि मतदाता आकर्षित गर्ने खालको पनि नभएको उनले बताए । यसमा २६–२७ वर्षदेखि योजनावद्ध रूपमा कांग्रेस विरोधी शक्तिले गलत प्रचार गरेको उनले बताए । ‘हामीले यी भ्रम चिर्न सकेनौं । हामीले मैदान छाड्दा कम्युनिष्टहरूले फाइदा लिए । हाम्रै वैचारिक जमिन र राजनीतिमा अहिले कम्युनिष्टहरू राजनीति गरेका छन् । उभिएका छन्,’ थापाले भने ।