काठमाडौं : माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठनले एउटा बालकृष्णलाई रिहाई नगरिए हजारौं बालकृष्णहरु जन्मिन सक्ने चेतावनी दिएको छ । बालकृष्ण ढुंगेलको गिरफ्तारी चुनाव नगराउने षड्यन्त्र संगठनको दाबी छ ।
संगठनले वाम गठबन्धनको पक्षमा बनिरहेको माहोलबाट अत्तालिएर चुनाव भाँड्नका लागि ढुंगेलको गिरफ्तारी गरिएको बताएको हो। बुधवार एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल शिक्षक संगठन १ नम्बर प्रदेश कमिटीले तत्काल ढुंगेलको रिहाई र जनयुद्धकालिन मुद्धा खारेज गर्न माग गरेको हो ।
संगठनका केन्द्रिय सचिव एवं एक नम्बर प्रदेश संयोजक कुलप्रसाद खतिवडाले सरकारको यस्तै रवैया रहिरहे हजारौं बालकृष्णहरु जन्मिने बताए ।
‘जनयुद्धकालिन मुद्धाहरु बिस्तृत शान्ति सम्झौताको मर्म अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याउने भनिएको हो तर एक्कासी वाम गठबन्धनबाट अत्तालिएर यसको रिस एकजना बालकृष्णमाथि पोख्नु न्यायोचित छैन’, उनले भने,‘यसले हजारौं बालकृष्णहरु जन्माउने खतरा रहन्छ र मुलुक अन्त्यहिन द्वन्द्वतर्फ जान सक्छ ।’ यस्तै, संगठनले तत्कालिन जनयुद्धका पिडकविरुद्ध किटानी जाहेरीका साथ मुद्धा दर्ता गर्न द्वन्द्वपीडित शिक्षक, विद्यार्थी, अपाङ्ग र घाइतेहरुलाई अपिल समेत गरेको छ।
‘हामी तत्काल नेता ढुंगेलको विना शर्त रिहाई र जनयुद्धकालिन मुद्धाहरु खारेजीको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ,‘यदि यस्तै रवैया कायम रहेमा हजारौं बालकृष्णहरु जन्मिने तर्फ सचेत गराउँदै द्वन्द्वपीडित हजारौं शिक्षक, शहिद, घाइते, वेपत्ता, अपाङ्ग समुहलाई तत्कालिन जनयुद्धका पीडकहरुलाई द्वन्द्वकालिन मुद्धामा किटानी जाहेरीका साथ मुद्धा दर्ता गर्न आह्वान गर्दछौं।’