दैनिक ६ लाख खसी–बोका काटिने काठमाडौंले भारत–चीनबाट पनि आयात गर्दै
काठमाडौं, २ साउन । काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपत समेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ ।
उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसी बोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ ।
पशुपंक्षी बजार निर्देशनालयका निर्देशक डा. बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भए पनि सरकारले मासुको गुणस्तरमा ध्यान दिन नसकेको बताइन् । नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करीब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए ।