इमरानको आँट : भने, ‘मान्छे चन्द्रमा पुगिसके, हामी कश्मिर मुद्दा सुल्झाउन सक्दैनौं ?’
काठमाडौं, १३ मंसिर । खेलाडी जीवनबाट देशको नेतृत्वमा आइपुगेका पाकिस्तानी प्रधानमन्त्रीप्रति पाकिस्तानी जनताको ठूलो अपेक्षा छ ।
राजनीति गर्ने मान्छेले सही समयमा ‘यु टर्न’ गर्न जान्नु पर्ने अभिव्यक्ति दिंदै आएका इमरानप्रति जनताले ठूलो अपेक्षा समेत लिएका छन् । उसो त पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि आफ्ना जनताको हितका लागि विभिन्न कदम चालेका छन् । उनको एउटा अभिव्यक्तिले अहिले पाकिस्तानी नागरिकलाई सास्ती दिइरहेको समस्याबाट मुक्त हुने आशा जगाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानले कस्मिरको मुद्दा सुल्झाउन सकिन बताएका छन् । उनको यो आँट व्यवहारिक रुपमै सफल हुन सकेको खण्डमा भारत–पाकिस्तानको सम्बन्धमा समेत सुधार आउने देखिन्छ । बुधबार कर्तारपुर करिडोरको शिलान्यासमा बोल्दै इमरानले त्यसका लागि समस्या सुल्झाउने सोच चाहिने बताए ।
‘७० वर्षदेखि हामीले यो हालत देखिरहेका छौं । पाकिस्तानमा आज हाम्रो पार्टी, हाम्रो फौज, विपक्षी दल सबै एक ठाउँमा उभिएका छौं । हामी अघि बढ्न चाहन्छौं । हाम्रो एउटा मुद्दा छ कस्मिरको ।
मान्छेहरू चन्द्रमामा पुगिसके भने हामी यो एक मुद्दा हल गर्न सक्दैनौं। म एकिन दिलाउँछु, यो मुद्दाको हल हुन्छ,’ इमरानले भने । उनले भारत र पाकिस्तानले एकअर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा दुबै पक्षबाट गल्ती भएको स्वीकार्नु पर्ने बताए ।
‘जर्मनी र फ्रान्सबीच कति लडाइँ भएको थियो, अहिले त उनीहरूबीच खुला सीमा छ । लडाइँको सोच पनि छैन । फ्रान्स र जर्मनी युरोपियन युनियन बनाएर अगाडि बढ्न सक्छन् भने हामी किन सक्दैनौं । हामीले यो जंजिर तोड्नुपर्छ,’ इमरानले भने,‘दुई मुलुक अघि बढ्न सक्छन्। भारतले एक कदम अघि बढायो भने पाकिस्तानले दुई कदम चाल्छ ।’
उनले शिलान्यास समारोहमा उपस्थित पञ्जाबका मन्त्री तथा भारतका पूर्व्क्रिकेटर नवोजितसिंह सिद्दुको पनि तारिफ गरे । ‘पाकिस्तान भ्रमण गरेर फर्किएपछि भारतमा यिनको धेरै आलोचना भयो । एक मान्छे मित्रता र प्यारको कुरा लिएर अर्को मुलुक जान्छ भने यसमा गल्ती के भयो ?’ इमरानले भने,‘सिद्दु तपाईं पाकिस्तान आएर चुनाव लड्नुस्, पञ्जावबाट जित्नुहुन्छ ।’
पाकिस्तान र भारतका पञ्जाव प्रान्तमा रहेका गुरुनानका समाधि स्थलमा आउन जान सजिलो होस् भनेर करिडोर बनाउन लागेको हो । अर्को वर्ष करिडोर निर्माण सकिने छ । त्यसपछि करिडोरको ६ किलोमिटरभित्र भिसा बिनै पाकिस्तानी र भारतीयले आउजाउ गर्न पाउने छन् । एजेन्सी