कांग्रेस सभापतिको घरमा काम गर्ने किशोरी मृत्त फेला, यौनाङ्गमा रगत देखिएको आफन्तको आरोप
उदयपुर, २९ मंसिर । नेपाली कांग्रेस उदयपुरका नगर सभापतिको घरमा काम गर्न बसेकी १४ वर्षीया किशोरी मृत्त फेला परेकी छन् ।
कांग्रेस नगर सभापति सुशील सेडाइको घरमा काम गर्न बसेकी १४ वर्षीया राधिका तिम्ल्सिेना झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सभापति सेडाइको घरमा पढ्न तथा काम सघाउन बसेकी बेलका नगरपालिका–४ की राधिका तिमिल्सेनाले झुण्डिएर आत्महत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रवार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ ।
घरमा पढ्न बसेकी बालिका कोठामा मृत अवस्थामा रहेको खबर पाएपछि त्यहाँ पुग्दा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीन सिंहका अनुसार बालिकाको शव पोस्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा लगिएको छ ।
बुबा बेपत्ता र आमा वैदेशिक रोजगारीमा रहेकी राधिका विगत दुई वर्षदेखि सेडाईको घरमा बस्दै आएको स्थानीय शरद कोइरालाले जानकारी दिएका छन् । स्थानीय विद्यालयमा ८ कक्षामा अध्ययनरत बालिकाले आफ्नो हातमा ‘आर आई लभ’ लेखेको पाइएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन् । आत्महत्याको अन्य कुनै कारण भने खुलेको छैन ।
मृतकको ठूलोबुबा कुमार तिमिल्सेनाका अनुसार ‘बालिकाको योनीबाट रगत निस्किएको र खुट्टाले भुई छोएको अवस्था भेटिएको बताएका छन् । बालिकाले आत्महत्या नभएर बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका आफन्तजनले गरेका छन् ।