जनताको जलविद्युतको पहिलो शेयर म किन्छु : प्रम

विपन्न वर्गलाई निः शुल्क सय कित्ता शेयर


२ फाल्गुन २०७५, बिहीबार
pm oli

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् ।

pm oli

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गरेका हुन् ।

कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उनले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिए पनि पहिलो शेयर किनेर सबै नेपालीलाई यस अभियानमा सहभागी हुन आग्रह गर्ने स्पष्ट पारे ।

उनले नेपाली जनताको सानोतिनो र निस्क्रिय रहेको पैसाको सदुपयोग गरेर जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग जरुरी रहेको स्पष्ट पार्दै भने, ‘केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अगाडि बढाउँदै लैजान्छौं ।’

प्रधानमन्त्रीले नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै अपुग भएको पैसा मात्रै विदेशी संस्थाबाट भित्र्याइने बताए । प्रधानमन्त्रीले धेरै मुनाफा हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै स–साना र निस्क्रिय बसेका पैसालाई गतिशील क्षेत्रमा परिचालन गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गरे ।

नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरे ।

हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उनले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको शुरुवात भएको, आज मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत शुरुआत गरिएको स्पष्ट पारे ।
वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको बताए ।

कूल जनसंख्याको ४० प्रतिशत युवा र ६० प्रतिशत बढी सक्रिय जनशक्ति भएको नेपालले एकाध वर्षमा ठूलो प्रगति हासिल गर्नेछ भन्दै प्रधानमन्त्रीले देश बनाउने महाभियानमा सबैको साथ र सहयोगसमेत जरुरी रहेकामा जोड दिए ।

उनले फरक एक प्रसङ्गमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई सफल बनाउन पार्टीको सबै तह सक्रिय भएर लागेको समेत जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीका हामी अध्यक्षद्वय (म र पुष्पकमल दाहाल ‘प्रचण्ड’) भवितव्यले बाटामा भेट भएका यात्री नभएकाले मिलेर देश बनाउने महाअभियानमा लागेका छाैं । हामी सुविचारित तवरले अगाडि बढेका छौं ।’

उनले कुरा मात्रै बोकेर जीविका चलाउनेहरुको दिन सकिएको छ भन्दै काम र परिणाममा लाग्नसमेत आग्रह गरे । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय संकल्प पूरा गर्ने लक्ष्यका साथ सबै नेपालीलाई धनी बनाउने योजना अगाडि सारिएको बताए । उनले वर्तमान सरकारको संकल्पका रुपमा रहेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अवधारणा सामाजिक न्यायसहितको हुने भएकाले त्यसमा यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्‍याउने स्पष्ट पारे ।

यस्तै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सबै नेपाली नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ महाभियान शुरु भएको जानकारी दिँदै नेपालको विकासका लागि ऊर्जा क्षेत्रको विकास र त्यसमा जनसहभागिता नै महत्वपूर्ण विषय रहेको बताए ।

विपन्न वर्गलाई निः शुल्क सय कित्ता शेयर
सरकारले जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न बिपन्न वर्गलाई ऋण प्रदान गर्ने भएको छ ।
बिहीबार घोषणा हुन लागेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ मा बिपन्न बर्गलाई शेयर लगानी गर्नका लागि सरकारले ऋण दिने भनिएको छ । स्थानीय तहबाट विपन्न वर्ग भनेर सिफारिस भएर आएकालाई सहुलियत ब्याजमा ऋण दिने व्यवस्था उक्त कार्यक्रमको ७१ औं बुँदामा उल्लेख छ ।

‘सरकारको मापदण्डमा रही स्थानीय तहबाट विपन्न बर्ग भनी सिफारिस भई आएका इच्छुक विपन्न वर्गका जनताको लागि बैंक र वित्तिय संस्थामार्फत विपन्न वर्ग कर्जा अन्तर्गत सहुलियत ब्याजदरमा ऋण प्रदान गरिनेछ,’ कार्यक्रमको ७३ औं बुँदामा भनिएको छ, ‘अधिकतम १०० (सय) कित्ता शेयर लगानी गर्नका लागि १० हजार रुपैयाँसम्म ऋण प्रदान गरिने छ ।’

जलविधुतमा नेपालीकै लगानी बढाउन र सबैलाई सहभागी गराउन विपिन्न वर्गलाई केही विशेष व्यवस्था गरिएको उर्जा मन्त्रालयका एक अधिकारीले बताएका छन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिए वापत सरिकारले जमानत प्रदान गर्ने व्यवस्था पनि छ । ‘ऋण चुक्ता भएपछि सम्बन्धित शेयर धनीहरुको शेयर फुकुवा गर्ने व्यवस्था गरिएको छ,’ उक्त व्यवस्थामा थप गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७