राजनारायण पाठकको घुस असुली टोलीमा को-को छन् ?


Author
१७ फाल्गुन २०७५, शुक्रबार
rajnarayan pathak घुस काण्ड

काठमाडौं, १७ फागुन । अख्तियारको दुरुपयोग रोक्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भइसकेको छ ।

आयुक्त पाठकले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले आफ्नो प्रतिष्ठा जोगाउन उनलाई कारबाही गर्ने प्रक्रिया सुरु गरेको छ । आयुक्त पाठकले राजीनामा दिएर उन्मुक्तिको बाटो रोजे पनि उनलाई उन्मुक्ति दिनु नहुने दबाब आयोगमाथि छ । अख्तियारले आयुक्त पाठकमाथि छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन सुरु गरेको छ ।

पाठकमाथि अकूत सम्पत्ति आर्जनमा पनि मुद्दा चल्ने भएको छ । पाठकले तीनकुनेमा फ्ल्याट नै लिएर सरकारका उच्चपदस्थ अधिकारीलाई बोलाउँदै यस्तो उजुरी परेको छ भन्दै देखाउँदै घुस लिने गरेका थिए । जुन अफिसका बारेमा चर्चा हुन थालेपछि आयुक्त पाठकले एक अनलाइन दर्ता गरी चलाउन थालेका थिए ।

पाठकको घुस असुली टोलीमा को को छन् ?
भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन कलेज सञ्चालकसँग ७८ लाख रुपियाँ घूस लिएको तथ्य सार्वजनिक भएपछि पाठकले राजीनामा त दिए । तर उनले कर्मचारी तर्साउँदै घुस असुलीका लागि तीनकुनेमा भब्य फ्ल्याट लिएर राखेका उनको टोलीका बीचौलियाहरु भने कारबाहीको दायरामा आउन सकेका छैनन् ।

आयुक्त पाठकले भब्य फर्निसिङ गरी तीनकुनेमा फ्ल्याट लिएर विभागीय प्रमुखदेखि आयोजना प्रमुखहरुलाई बोलाउँदै घुसको बार्गेनिङ गर्ने गरेका थिए । उनको बार्गेनिङ गर्ने टोलीका मुख्य पात्र हुन्, नापी विभागका सर्भेक्षक शुभकान्त झा ।

नापी कार्यालय ललितपुरबाट नक्कली प्रमाणपत्रमा कारबाहीमा पर्ने भएपछि राजीनामा दिएका पूर्व नापी अधिकृत संजय ठाकुर, एयरपोर्ट भन्सारका नासु ललितनारायण झा र केशर पुस्तकालयका प्रमुख उपसचिव दशरथ मिश्र । यो ४ जनाको टोलीले आयुक्त पाठकको नाम लिंदै तीनकुनेमा बोलाउने र मोलमोलाई गर्ने गरेको थियो । जसको शिकार विद्युत विकास विभागका तत्कालीन महानिर्देशक नवीनराज सिंह पनि भएका थिए ।

एकपटक बोलाएर घुस असुलीसकेपछि पुनः एक महिनामै अर्को उजुरी परेको छ भन्दै बोलाएर थप घुस माग्ने काम यो टोलीले गर्दैआएको थियो । यो टोलीले काठमाडौंमा मात्र होइन, बाहिरका जिल्लामा पनि असुली गर्ने गरेको थियो । ‘उजुरी परेको छ, आयुक्त पाठकलाई यति रकम दिए मिलाइदिन्छु’ भन्दै काठमाडौं बाहिर पनि शुभकान्त झाको टोली जाने गरेको थियो । यो टोलीले तीनकुनेमै बसी उजुरी तयार गर्ने र त्यही देखाउँदै तर्साएर असुली गर्दैआएको थियो ।

ललितपुर नापीको सर्भेक्षक हुँदा इमाडोलको नदीउकासको चालीसौं रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेका सर्भेक्षक शुभकान्त झाले मेडिसिटी अस्पतालको जग्गा हालसाविक गर्ने क्रममा २ करोड रुपैयाँ घुस लिएर तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्कीमार्फत् काम गराएको आरोप छ ।

मेडिसिटी अस्पतालको बीचबाट सार्वजनिक कुलो थियो भने नख्खु खोलाको केही रोपनी जग्गा पनि अस्पतालको नाममा कायम गरिएको छ ।

सेवाग्राहीको नियम अनुसार गर्नुपर्ने जग्गाको हालसाविक नगरी घुस मागेर हैरान पारेपछि तीन बर्षअघि अख्तियारको टोलीले उनलाई पक्राउ गर्न खोजेको थियो । तर सर्भेक्षक मेघनाथ चौलागाईलाई घुस लिन लगाएपछि उनलाई पक्राउ गर्न असफल भएको थियो ।

त्यसलगत्तै उनलाई तत्कालीन नापी विभागका महानिर्देशक नागेन्द्र झाले विभागमा तानेर थप छानबिन हुनबाट जोगाएका थिए । आयुक्त पाठकलाई घुस असुलीका लागि विभिन्न ब्यक्तिको सूचना दिने काम नागेन्द्र झाले पनि गर्दैआएका थिए ।

पाठकले घुस असुलीका लागि डिल गर्न राखेका शुभकान्त झाको पद सर्भेक्षक (नासु) स्तर हो । तर जागिर खाएको एक दशकमा उनीसँग बीसौं करोड सम्पत्ति रहेको नापी विभागकै कर्मचारी बताउँछन् । नासु तहका उनी निजी गाडी, घर बंगला, विभिन्न ठाउँमा जग्गाजमिनदेखि अस्पतालमा समेत लगानी गर्ने तहमा पुगेका छन् ।

पछिल्लो समय तीनकुनेको उक्त घुस डिल गर्ने अफिसबाट एक अनलाइनसमेत संचालित थियो । आयुक्त पाठकका बारेमा धेरै नै समाचार आउन थालेपछि त्यसलाई काउन्टर गर्न अनलाइन नै संचालन गरिएको थियो । अनलाइनको अफिस भनिए पनि त्यहाँ दैनिक विभिन्न कार्यालयका कर्मचारीहरुको ताँती लाग्ने गरेको थियो । ती सबैलाई आयुक्त पाठकको नाममा झाले डिल गर्ने गरेका थिए ।

आयुक्त पाठकको यो घुस डिल गर्ने टोलीका ललितनारायण झाले अर्थमन्त्रालय अन्तर्गतका सूचना ल्याउने गरेका थिए । केशर पुस्तकालयका प्रमुख मिश्रले शिक्षा मन्त्रालय वा अन्तर्गतका विभिन्न सूचना ल्याउने र त्यही आधारमा विभाग र आयोजनाका प्रमुखलाई बोलाउँदै मोलमोलाई गर्ने गरिएको थियो ।

पाठकबाट सबैभन्दा बढी पीडित मधेशी
आयुक्त पाठकले बारम्बारको प्रयासमा पनि घुस फिर्ता नगरेपछि पीडितहरुले भिडियो सार्वजनिक गरे । ४ महिनाअघि प्रधानमन्त्री ओलीलाई दिंदा पनि उनीमाथि कारबाही नभएपछि पीडितले मिडिया गुहारेर भिडियो सार्वजनिक गरे ।

पाठकले भिडियोको समाचार आएपछि पनि आयुक्तमा जोगिन मधेशवादी पार्टी राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरममा आफ्ना परिवारलाई पठाए । तर दुवै पार्टीले उनलाई बचाउन नसक्ने जवाफ मात्र दिएनन्, दुवै अध्यक्षले भेट्न समेत अस्वीकार गरेको स्रोतले बताएको छ ।

आयुक्त पाठकले सबैभन्दा बढी दुःख मधेशी कर्मचारीलाई नै दिएका कारण राजपा र फोरमले उनलाई साथ नदिएको स्रोतले बताएको छ । वन मन्त्रालयमा कार्यरत एक मधेशी मूलका कर्मचारीले भने– २ नम्बर प्रदेशका मधेशी मूलका हजारौं कर्मचारीलाई आयुक्त पाठकले यति दुःख दिएका छन् कि अब उनीहरु उनका विरुद्ध उजुरीको चाङ नै लिएर आए पनि आश्चर्य नमाने हुन्छ । छानीछानी उनले मधेशी कर्मचारीलाई अख्तियारको त्रास देखाएर करोडौं रुपैयाँ असुली गरेका छन् ।

पाठकले अख्तियारको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेका छन् । उनको घुस असुली टोलीका शुभकान्त झा, संजय ठाकुर, दशरथ मिश्रहरुको पनि सम्पत्ति छानबिन गर्ने तयारीमा अख्तियार छ ।

अख्तियारमा सुजन दाहालले दिएको उजुरीमा पाठकले अख्तियारको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति विवरणसहित छानबिनको माग गरेका छन् । दाहालको उजुरीमा उल्लेख नभएका तर राजनारायणले सम्पत्ति लुकाएका अर्का पात्र हुन्, केशव सापकोटा । रामेछाप घर भएका उनी ३ बर्षअघिसम्म भरत गौतमको सामान आपूर्ति गर्ने एक फर्ममा काम गर्थे । तर ३ बर्षअघि आयुक्त पाठकसँग उनको चिनजान भयो ।

पाठकसँग चिनजान भएपछि उनले यो तीन बर्षको बीचमा बानेश्वरमै ३ वटा घर बनाइसकेका छन् । उनको समेत सम्पत्ति छानबिन हुनुपर्ने माग हुन थालेको छ । ३ बर्षको बीचमा कम्तीमा १५ करोड कसरी आर्जन गरे सापकोटाले यो अख्तियारले गहन रुपमा अनुसन्धान गर्नुपर्छ ।

त्यसका अलावा पाठकलाई कर्मचारीको सूचना दिने काम नापी विभागका पूर्वमहानिर्देशक नागेन्द्र झाले गर्दैआएका थिए । उनी तीनकुनेको अफिसमा नबसे पनि सूचना दिएर पाठकलाई सहयोग गर्दैआएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७