सुन तस्करीपछि सट्टेबाजीको धन्दामा दीपक मल्होत्रा


२१ चैत्र २०७५, बिहीबार
Deepak Malhotra

काठमाडौं, २१ चैत । विवादास्पद ब्यापारी दीपक मल्होत्रामार्फत् नेपालका धेरै भ्रष्ट, कर्मचारी, प्रहरी र नेताले लगानी गर्ने गरेका छन् । मल्होत्राले नेतादेखि कर्मचारीको भ्रष्टाचारको रकम चलाएकै कारण सनम ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उनलाई पक्राउ नगरिएबाट पनि पुष्टी भइसकेको छ ।

उनका ब्यापारिक साझेदार विमल पोद्दार ३३ किलो सुन र शाक्य हत्यामा पक्राउ परे पनि मल्होत्राले उन्मुक्ति पाएका थिए । जबकि ३३ किलो सुन प्रकरणमा पोद्दारले मल्होत्राले सुन तस्करी गर्ने गरेको बयान नै दिएका छन् ।

मल्होत्राले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घर मासिक ३ लाखमा भाडामा लिएर तस्करीको सुन लुकाउन प्रयोग गरेको आरोप पनि लागेको थियो ।

पोद्दारको बयानमा मल्होत्राले अवैध हुन्डी गरी भारतमा पैसा पठाउने गरेको र उनको उक्त रकम आफूले नै हून्डी गरी पठाउने गरेको बयानमा उल्लेख गरेका छन् ।

पोद्दारले यस्तो बयान दिंदा पनि मल्होत्रा पक्राउ नपर्नुको कारण उनले नेतादेखि उच्चपदस्थ कर्मचारी र प्रहरीको भ्रष्टाचारबाट आर्जित धन ब्यापारमा लगानी गरेकै कारण हो भन्ने गरिन्छ ।

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा र उनको कनेक्सन कति कसिलो थियो भन्ने कुरा त एक बर्षअघि तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको छोरीको इन्गेजमेन्टमा अन्नपूर्ण होटलमा देखिएको थियो ।

Deepak Malhotra
दीपक मल्होत्रा, नथमल अग्रवाल(नागराज) र विमल पोद्दारले सुन छानबिन समितिलाई दिएको बयान

पछिल्लो समयमा मल्होत्रा नथमल अग्रवाल(नागराज)सँगै सट्टेबाजीको धन्दामा लागेको स्रोतको दाबी छ । भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भएसँगै नेपालमा सट्टेबाजीको धन्दा चलाउने नागराजको गिरोह पुनः सक्रिय भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले अनलाइनमार्फत् सट्टेबाजीको काठमाडौंमा जताततै देखिन थालेको छ ।


सट्टेबाजीमा बदनाम नागराजले नेपालमा यो धन्दाको सुरुवात गरेको स्रोत बताउँछ । केही महिनाअगाडि नागराज सट्टेबाजी गरेकै आरोपमा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले ५० लाख र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मागेको ५० लाख धरौटी बुझाएर रिहा भएका नागराज अहिले गुमनाम छन् । स्रोतका अनुसार नागराजको धरौटी रकम दिपक मल्होत्राले नै तिरेका थिए ।

सट्टेबाजी धन्दा चलाउँदै आएका नागराजको धरौटी रकम जम्मा गरेपछि नागराज र मल्होत्राको सम्बन्धलाई लिएर यतिबेला प्रश्न उठेको छ । सुन तस्करीमा मन्दी आएपछि मल्होत्राले नागराज जस्ता व्यक्तिलाई अगाडि सारेर सट्टेबाजीको धन्दा चलाउन थालेका छन् ।

पाँच महिना अगाडि महानगरीय अपराध महाशाखाले पक्राउ गरेका नागराजको धरौटी बराबरको १ करोड रूपैयाँ मल्होत्राले तिरेपछि यो कुराको पुष्टि हुन आएको हो । मल्होत्राको सेटिङमै अहिले पनि सट्टेबाजीको धन्दा हुँदै आएको स्रोत बताउँछ । नागराजको विचाराधीन मुद्दामा समेत मल्होत्राले सेटिङ मिलाएर मुद्दा जिताउन लागिपरेका छन् ।

मल्होत्राको अदालतका न्यायाधीशसँग विगतदेखिकै कनेक्सन छ । मोवाइलको भ्याटफिर्ताको मुद्दामा पनि उनी सर्वाेच्चमा मिलाउन लागेका छन् । मल्होत्राले मोवाइल आयात गरेबापत पर्याप्त मुनाफा लिएर मात्र नपुगी सरकारबाट भ्याट समेत फिर्ता लिंदैआएका थिए । डा. युवराज खतिवडाले भ्याटफिर्ता नदिने निर्णय गरेपछि मल्होत्राले अदालतमा मुद्दा दिएका छन् । उनी अहिले नागराजलाई पनि अदालतबाट जोगाउन लागिपरेका छन् ।

नागराजका सहयोगीका रुपमा रहेका गौरव तिवारीको समूहलाई लिएर अहिले पनि मल्होत्राले सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । सट्टेबाजी खेलाउँदै आएका तिवारीलाई प्रहरीले पक्राउ गर्दा उनको बैंक खातामा अवैध सात करोड ४७ लाख रकम देखिएको थियो । सट्टेबाजीका डन नागराज भन्ने अमृत अग्रवालसँग मिली तिवारीले सट्टेबाजी गरेको र पछि विवाद बढेपछि लण्डनबाट मास्टर एकाउन्ट खोली कारोबार गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

अहिले पुनः यो समूह एक भएर सट्टेबाजीको धन्दा चलाउँदै आएको छ । तिवारीको समूहलाई तत्कालीन समयमा काठमाडौं परिसरले पक्राउ गरेको थियो । सो समयमा काठमाडौं परिसरमा एसएसपी विश्वराज पोखरेल थिए । पक्राउ पर्नासाथ मिडियामा ठूलो हल्ला गर्ने एसएसपी पोखरेलले अन्तिममा जुवा अन्तर्गत मुद्दा चलाए र उनलाई उन्मुक्ति दिलाएका थिए । उक्त काण्डमा ठूलै सेटिङ भएको थियो । पक्राउ परेका तिवारीलाई काठमाडौं प्रहरीले एक सातामै दुई सय रुपैयाँमा छुट्ने गरी मिशिल खडा गरेको थियो ।

तिवारीलाई संगठित अपराध, संस्थागत ठगी र सम्पत्ति सुद्दिकरणमा मुद्दा चल्ने भन्दै पोखरेलले मिडियासामु बताए पनि जुवा मुद्दा भन्दा अन्य कुनै मुद्दा लगाउन प्रहरीले सकेन । अहिले यही गिरोहले आईपीएलमा सट्टेबाजीको धन्दा चलाइरहेको छ ।

तिवारीसहित पक्राउ परेका पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसीसँग दुई करोड ७७ लाख दुई हजार, भुपेन्द्र कुँवरसँग तीन करोड २२ लाख ९७ हजार र नरेन्द्र सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको प्रहरी अनुसन्धानमा खुलेको थियो । तिवारीसहित पाँच जना सट्टेबाजी खेलाएको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७