‘ठगी’ को समाचार लेख्दा सम्पादक गिरी पक्राउ


२ बैशाख २०७६, सोमबार
Arjun Sen Giri

काठमाडौं, २ वैशाख : पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक अर्जुन गिरीलाई ठगीको समाचार लेखेकै कारण प्रहरीले पक्राउ गरेको छ । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा सम्पादक गिरीलाई सोमबार पक्राउ गरिएको हो ।

Arjun Sen Giri
पक्राउ परेका सम्पादक गिरी (सेतो सर्ट) लाई काठमाडौं ल्याउने क्रममा पोखरा विमानस्थलमा। तस्बिर सौजन्य : कमल पौडेल।

साइबर अपराध मुद्धामा पक्राउ गरी काठमाडौँ पठाउने निर्देशन अनुसार पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । भने ‘सिआइबीले पक्राउ गरेर पठाउनु भन्यो । के उजुरी परेको हो हामीलाई थाहा छैन मुद्धा केन्द्रले नै हेर्छ ।’

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो ।

सिआइबीले पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता गरेको नभेटिएको कारण प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, सम्पादक गिरीको पत्रिका र अनलाइन दुबै दर्ता भएको देखिन्छ ।

प्रेस काउन्सिल नेपालले उक्त अनलाइनले सूचीकरणको लागि आवेदन नदिएको चिठी बतासको नाममा दिएको छ । तर, काउन्सिलकै रेकर्ड अनुसार २०७४ साल बैसाख २९ गते अनलाइन दर्ताको लागि आवेदन दिएको रेकर्ड देखिन्छ । आवेदनको दर्ता नम्बर ९८८५ रहेको छ ।

काउन्सिलको पत्र :-

Press council


काउन्सिलको विबरण
Tandav Online

संघ, संगठनहरुको आपत्ती
यसैबीच पत्रकारहरुको बिभिन्न संघ संगठनहरुले पत्रकार पक्राउ गरिएको घटनाको बिरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै बिरोध गरेको छ ।

‘पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि भएको यो हस्तक्षेपले प्रेस स्वतन्त्रता हनन भएको महासंघको ठहर छ,’ महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सम्पादक गिरीलाई तत्काल रिहाईको माग गर्दै प्रहरीको यस्तो ज्यादतीको घोर भत्र्सना गर्दछ । साथै, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई स्वतन्त्र र निर्र्भीकरूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले पनि सम्पादक पक्राउ गरेको बिरोध गरेको छ । प्रेस सेन्टरका महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचिव राजेश राईले विज्ञप्ति जारी गरेर आपत्ती जनाएको हो । जारी विज्ञप्तिमा भनउिको छ, ‘ यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथिको हनन समेत हो ।’

पत्रकार महासंघ कास्कीले पनि आपत्ती जनाएको छ । महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गिरी पोखरा रहेर क्राइम न्यूज लेख्ने गर्छन् । यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकी, आदीबासी जनजाती पत्रकार महासंघ फोनिज, प्रेस संगठन कास्की, लगायतका पत्रकार निकटका संस्थाहरुले पत्रकार गिरीलाई तुरुन्त रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७