कुलेखानी तेस्रोको सुरुङ्गमा पानी भरियो, असारभित्र ७४ मेगावाट बिजुली उत्पादन हुँदै


४ बैशाख २०७६, बुधबार
upper trishuli

काठमाडौं, ४ बैसाख । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

upper trishuli

कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी भरेर परीक्षण सकिएको र त्रिशूली थ्री एको झण्डै ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण शुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगेर विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनाको महत्पूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, असारभन्दा अगाडि नै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापर्बाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो । विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेपछि आयोजनाको निर्माण प्रभावित भएको थियो ।

प्रशारण लाइनको पनि तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिएका छन् । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रशारण लाइनको बाँकी एउटा टावर खडा गरी झण्डै ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रशारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’ उनी भन्छन् ।

मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । आयोजनाको शुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।

यस्तै रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाख (३० अप्रिल २०१९) भित्र ल्याउने गरी काम भइरहेको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरीलगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिएका छन् । उनले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया शुरु भएको बताए ।

‘१७ वैशाखभित्रमै एउटा युनिटबाट विद्युत उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रशारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’, उनले भने ।

दोस्रो युनिट (३० मेगावाट)बाट भने असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ ।
प्रशारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।

इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत गृह, बँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग २०६७ जेठ १८ गते ठेक्का सम्झौता भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७