जो खुट्टाले भिडियो बनाउँछन्, अनि चम्किँदैछन् रातारात यसरी

पाल्पा, १९ बैसाख । नेपाली साहित्यमा राम्रो छवि बनाएकी साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका छन् ।

उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका–१ बर्दाकोटका यमबहादुर खाम्चा अहिले पनि न त राम्रोसँग बोल्न, हातको सहायतामा काम गर्न न त हिँड्न नै सक्छन् । तर राम्चामा भएको लगनशीलता, मेहनेत र क्षमता भने अचम्मको छ ।

बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न नसक्ने खाम्चा त्यसपछि मात्रै केही घिस्रेर मुस्किलले भित्र बाहिर आउन जान सक्ने उनको परिवारले बताएको छ । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङमा रहेको बालहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत खाम्चाले कक्षा ८ सम्म कहिल्यै तृतीय नभएको उनका बुवा मानबहादुरले बताए ।

यमका बुवा मानबहादुरले भने, ‘शुरुमा त कसरी पढाउने, कसरी हुर्काउने यो मात्रै पीर पथ्र्यो, तर छोरो पढाइमा सधैँ प्रथम र द्वितीय भइरह्योे, परीक्षाका बेला बिरामी परेका कारण यस पालि भने चौथो भयो ।’

कसैसँग कुरा गर्नुपरे कापीमा खुट्टाले लेखेर बोल्ने खाम्चाले कक्षामा सबै साथीसरह नै पढाएको बुझ्ने विद्यालयका प्रधानााध्यापक नवलसिंह वीरकट्टाको भनाइ छ । खाम्चालाई सजिलोका लागि विद्यालयमा छुट्टै भुइँ बस्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा परीक्षा शुल्क समेत नलिएर उनको क्षमता विकासका निम्ति ल्यापटपसमेत किनिदिइएको विद्यालयले जनाएको छ ।

विकट भेग सदरमुकाम तानसेनबाट झण्डै ७० किलोमिटर पूर्व बर्दाकोटमा जन्मेका खाम्चाले खुट्टाको औंँलाबाटै कापीमा कलमले लेख्ने, ल्यापटपमा टाइप गर्ने तथा मोबाइलमा सबै काम गर्ने गरेका छन् । राम्रोसँग अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख्ने खाम्चाले कविताले कापी समेत भरेका छन् । देश, समय परिस्थिति, परिवार तथा आफ्ना जिल्ला र गाउँका विषयमा धेरै सिर्जना कोरेका छन् । खाम्चा दुई खुट्टाको सहायताले मोबाइल तथा ल्यापटपमा भिडियो बनाउने, तस्वीर खिंच्नेदेखि विभिन्न विषयमा लेख समेत लेख्ने गर्छन् ।

सबैका छोराछोरीलाई राम्रो देखेकी खाम्चाकी आमा योगमायाले शुरुमा अपाङ्गता भएको छोरालाई देख्दा दुःखी भएको तर अहिले गाउँका कसैले चलाउन नजान्ने ल्यापटप छोराले चलाउँदा खुशी लागेको बताइन् ।

योगमायाले बोल्दा बोल्दै छोराले ल्यापटप तथा मोबाइलमा खुट्टाले थिचेर पालैपालो भिडियो खिंच्दै गरेको देखेर हर्षका आँशु बगाउँदै भनिन्, ‘हेर के–के जानिसक्यो, अहिले त उसको झोला बोक्दिएर स्कूल पुर्‍याउँदा पनि खुशी लाग्छ, स्कुलमा सर म्याडमले छोरो जान्ने छ भन्नुहुन्छ, रमाइलो लाग्छ ।

सानैदेखि मैले भोगेको सबै दुःख बिर्सन्छु । अपाङ्गता भएको छोरो भनेर आमाबाबुलाई पीर नै छैन, उल्टै विकट गाउँमा हुर्केर पनि अन्य व्यक्तिसरह काम गर्छ । पढाइमा लगनशील छ ।’ यमकी आमाले छोराले गरेको प्रगतिले भविष्यमा ठूलो मान्छे बन्ने आशा जगाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्