कार्ल मार्क्सको जन्मजयन्तीमा प्रज्ञा हलबाट प्रचण्डका ५ सन्देश


२२ बैशाख २०७६, आईतवार
Puspakamal Dahal Parchanda
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, २२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यस्ता नेता हुन्, जसले केही न केही नयाँ तरंग ल्याउने गरी बोल्छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पनि प्रचण्डले नयाँ सन्देश दिने गरी खुलेर बोले ।

कार्यक्रम थियो, ‘कार्लमाक्र्सको २०१ औं जन्मजयन्तीको अवसरमा कार्लमाक्र्स, द्विसतबार्षिकी समारोह समितिले गरेको जन्मस्मृति कार्यक्रम ।’ कार्यक्रमको बिषय थियो, ‘समृद्धि र समाजवाद : हामी कहाँ छौं ?’ पार्टीभित्र वैचारिक बहसमात्रै होइन नेतृत्वलाई आलोचना र प्रश्न गरेर हैरान पारिरहने समूह कार्यक्रमका आयोजक थिए ।

कार्लमाक्र्स, द्विसतबार्षिकी समारोह समितिका संयोजक नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाल छन् भने अर्का नेकपाकै नेता राम कार्की सहसंयोजक छन् । सोही समितिको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड बडो खुलेर बोले । सैद्धान्तिक र भावनात्मक बिषयमा खुलेर बोले । यसरी प्रचण्ड खुल्ने वाताबरण नेता भुसालले स्वागत मन्तव्य दिदा तयार पारिदिएका थिए ।

सन्देश नम्बर एक : एकपटक नेतृत्व गर्छु
प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अझै एकपटक उत्कर्षमा पु¥याउने आफ्नो चाहना रहेको बताए । भने, म अझै जंगल जान तयार छु । कम्युनिस्ट आन्दोलन ‘क्लाइमेक्स’मा पु¥याएर मात्रै माथि जाने (मर्ने) इच्छा छ ।

प्रचण्डले नेता तथा कार्यकर्ताहरुले साथ दिएमा कम्युनिस्ट आन्दोलन ‘क्लाइमेक्स’मा लैजाने त्यो हिम्मत र साहस रहेको बताए । उनले नेता तथा कार्यकर्ताहरुलाई आफूलाई साथ दिन समेत आह्वान गरे । भने, ‘कतिपय कसरी सकिन्छ भन्छन् । तर, तपाईंहरुको साथ चाहिन्छ म जान सक्छु ।’
प्रचण्डले आफू त्यसै यथास्थितिमा बसिरहने नेता नभएको पटक–पटक बताए । उनले केही न केही नयाँ प्रयोग गरिरहने उनको भनाइ छ । उनले भने, ‘माक्र्सवाद कुनै जमेको पोखरीको पानी जस्तो होइन । कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो । हामीले पोखरीको पानी भत्काउनुपर्छ । मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ ।’

प्रचण्डले प्रष्टताका साथ आफूले नेकपा र कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गरेर नयाँ उचाईमा लैजाने चाहना रहेको बताए । प्रचण्डले पटक पटक यसो भनिरहँदा हलमा रहेका कार्यकर्ताहरुले कानेखुसी गरे,‘प्रचण्डले अध्यक्षको उम्मेदवारी घोषणा गरेजस्तै गरी भाषण गरे ।’

सन्देश नम्बर दुई : अब पुराना गुटहरु भत्किन्छन्, नयाँ बन्छन्
अध्यक्ष प्रचण्डले अप्रत्यक्ष रुपमा पूर्व एमाले र पूर्वमाओवादीको नाममा रहेका गुटहरु भत्काउनुपर्ने बताए । उनले भने, ‘अब पूर्व एमाले र पूर्व माओवादीको नाममा रहेका पोखरीहरु भत्काउनुपर्छ, भत्काएर खोलाझैँ गडगडाएर बगाउनुपर्छ ।’
अध्यक्ष प्रचण्डले समय अनुसार कदम चाल्दा आफूमाथि अस्थिरताको आरोप लागे पनि कम्युनिष्टले प्रयोग गरिरहनुपर्ने बताए । भने, ‘माक्र्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभयो । कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र विघटन गर्ने प्रयोग माक्र्सले नै गर्नुभयो । तर, हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरताको आरोप लाग्छ । हामीले समयअनुसार कदम चाल्नुपर्छ । म सानो समूहको महासचिव थिएँ । मलाई मेरै पार्टी भत्काउन मन लाग्यो । सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो । मैले पार्टी भत्काउन थालें । नयाँ पार्टी बनाउने कोशिस गरें ।’

सन्देश नम्बर तीन : नेकपाभित्र ध्रुवीकरण अब सुरु हुन्छ
अध्यक्ष प्रचण्डले महान् बहस र महान् विवादको लागि अब तयार हुन कार्यकर्ताहरुलाई अपिल गरे । जिल्ला कमिटीहरुको एकता सकिए लगत्तै पार्टी एकता एक हिसाबले टुंगो लागेको बताउँदै प्रचण्डले अब जिल्ला अधिवेशनहरुसँगै महान् बहस र महान् विवाद सुरु हुने बताए ।

प्रचण्डले पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’मा सबै नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन अपिल गरे । यही बहसले अबको नेकपाको बाटो तय गर्ने उनको भनाइ छ । प्रचण्डले भने, ‘पार्टी एकता भनेको चाहिँ फेरि बडो शान्ति, सुव्यवस्था, आरामसँग सबैलाई आनन्द हुन्छ र अगाडि बढ्न सकिन्छ भन्ने लागेको छ भने भ्रम हो । पार्टी एकता त महान विवादको सुरुवात पनि हो । महान् संघर्षको सुरुवात पनि हो । महान् बहसको सुरुवात पनि हो । सबैलाई त्यसैमा तम्तयार भएर एकतामा जाऔँ भनेको थिएँ ।’

सन्देश नम्बर चार : पार्टीमा सामुूहिकता हरायो, व्यक्तिवाद हावी
प्रचण्डले पार्टीमा सामूहिकता हराएको र व्यक्तिवाद हावी भएको बताए । उनले भने, ‘हिजो जंगलमा सुतियो, जंगलजस्तो लाग्दैनथ्यो । एक्लै हुँदा पनि लाखौँ करोडौँ जनताका बीचमा भएजस्तो अनुभूति हुन्थ्यो । अहिले यहाँ लाखौँको बीचमा काठमाडौँ आउँदा जंगलमा आएजस्तो लाग्न थाल्यो ।’

प्रचण्डले थोरै कार्यकर्ता र सानो जनाधार हुँदा पनि संसार जित्ने मनोबल हुने गरेको तर अहिले लाखौं कार्यकर्ता र विशाल संगठन हुँ दा समेत त्यस्तो नभएको बताए । भने, ‘हिजो हामी थोरै मानिसहरु हुँदा, सानो जनाधार हुँदा पनि संसारै जितिन्छ भन्ने आत्मविश्वास र मनोबल थियो । अहिले सबै हुँदा केही पनि सकिदैँन कि भने जस्तो भएको छ ? हामी थोरै हुँदा लाखौँ करोडौँ जनताका नेता हौँ भनेजस्तो गर्वका साथ हिँडिन्थ्यो । अहिले एक्लै एक्लै भएजस्तो किन भएको छ ? पार्टी विशाल छ, तर तपाई हामी एक्लै एक्लै छौँ । साथीविहीन जस्तो ।’

प्रचण्डले पार्टीमा हिजोको जस्तो त्याग र तपस्या नभएको बताए । भने, ‘पार्टीमा भएका ६–७ लाख कार्यकर्ता जुरुक्क उठ्ने हो भने यहाँ भएका दलाल, पूँजीपति, नोकरशाहलाई लखेट्न सकिन्थ्यो । केही महिनाभित्र अभियान चलाएर देशभरी जाने हो भने धेरै गर्न सक्नुपर्ने । तर अब नसकिने जस्तो, हिम्मत हारेको जस्तो किन भइयो सवाल यहाँनेर खडा भएको छ ।’

सन्देश नम्बर ५ : एकताको प्रस्तावक म हुँ
अध्यक्ष प्रचण्डले पार्टी एकताको पहिलो प्रस्तावक आफू भएको बताए । हिजो एमालेका महासचिव मदन भण्डारी रहँदा समेत एकताका लागि प्रस्ताव गरेको स्मरण गर्दै त्यो सपना आज पूरा भएको बताए ।

भने, ‘म र मदन भण्डारीबीच पार्टी एकताबारे कुरा गर्ने सल्लाह भयो। तर, त्यो दिन आएन। बीचमै मदन भण्डारीको अवसान भयो। तर, पर्खिदै गएर हामी यहाँ आयौं। अहिले २ शक्तिशाली पार्टीबीच एकता भएको छ। मदन भण्डारीको अवसानपछि हामी २ वटा प्रयोगमा गयौं। शान्तिपूर्ण राजनीतिलाई जनतासँग जोड्ने मदन भण्डारीको प्रयोग थियो। अर्को प्रयोग मेरो नेतृत्वमा जनयुद्ध भयो।’

उनले भने, ‘शुरूमा हामीले चुनावी गठबन्धन मात्रै गरौँ भनेर कुराकानी गरेका थियौँ । मैले अझै अगाडि बढेर पार्टी एकताको प्रस्ताव गरेँ । बीचमा तीन महिनामा सक्ने भनिएको पार्टी एकता वर्ष दिनमा पनि नटुंगिँदा बेकारमा गरिएछ भन्ने जस्तो पनि लाग्यो होला, कार्यकर्तालाई । तर, मलाई व्यक्तिगत रूपमा भने एकदम ठीक गरिएजस्तो लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७