प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै

विपक्षी नीति तथा कार्यक्रमको आलोचनामा, सरकार बचाउमा


२४ बैशाख २०७६, मंगलवार
PM KP Sharma Oli

काठमाडौं, २४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६–७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ आज संसदमा जवाफ दिने भएका छन् ।

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसदमा उपस्थित भई त्यसबारे प्रष्ट्याउन लागेका हुन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिंदैछ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ शब्दावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाइरहेका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेसलगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफरोमा रहेर जवाफ दिनेछन् ।
प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।

यस्तै यही २७ गतेबाट बजेट तयारीबारे संसद्मा छलफल हुने भएको छ । यसअघि नीति तथा कार्यक्रमअगावै यस्तो छलफल हुने गरेको भए पनि यसपटक सार्वजनिकपछि छलफल हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७