यसरी फसायो फेसबुके साथीले, अहिले पछुताउँदै


२४ बैशाख २०७६, मंगलवार
facebook

सिन्धुली, २४ बैसाख । सामाजिक सञ्जाल फेसबुकले मानिसको जीवनशैलीलाई सहज मात्र बनाएको छैन, रुवाउँदै हिंडाउने समेत बनाएको उदाहरण हाम्रै गाउँघरमा देख्न सकिन्छ ।

फेसबुकबाट साथी बनि नजिकएका व्यक्तिले युवा युवतीलाई महिनाको ४० हजार तलवको जागिर लगार्य दिने प्रलोभन देखाएर एक सय ११ जनालाई ठगेर बेपत्ता बनेका छन् ।

thagi photo

अहिले सूचनाको माध्यमको रुपमा प्रयोग भइरहेको फेसबुकमा साथी चिन्न नसक्दा सिन्धुलीका धेरै युवा अहिले अप्ठ्यारोमा परेका छन् । फेसबुकमा साथी बनेको मान्छेको झट्ट विश्वास गर्दा अहिले उनीहरुको ठूलो रकम डुबेको छ ।

सिन्धुलीकै गोलान्जोर गाँउपालिका–४, तीनकन्याका कुमार भन्ने एकेन्द्र मगर, हेमराज गुरुङ, पाथीभरा आयुर्वेद हस्पिटल, सिनामंगल काठमाण्डौका बीपी तिमल्सिना र सिन्धुपाल्चोक घर बताउने गोपाल भण्डारीले जागिर लगाई दिने नाममा ठगी गरेको भन्दै पीडितहरुले कार्बाहीको माग गरी प्रहरीमा उजुरी गरेका छन् ।

फेसबुकको साथीबाट ठगिएकी तीनपाटन गाउँपालिका–५ की २१ वर्षीया कुसुम कार्की भन्छिन्, ‘फेसबुकमा साथी बनेका एकेन्द्रले जागिरका लागि फर्म भर्न लगाए । मैले एकेन्द्रले भने अनुसार नै छ हजार सात सय रुपैयाँ तिरेर फर्म भरें र तीन दिने तालिम लिएर गाँउमा गएर दुई महिना काम गरे । तर तलब दिने अत्तोपत्तो भएन, उल्टै एकेन्द्र सम्पर्कविहीन भए । लामो समयसम्म एकेन्द्र सम्पर्कविहीन भएपछि बल्ल आफू ठगिएको थाहा भयो ।’

मासिक ३० हजार तलब र १० हजार फिल्ड भत्ता गरी ४० हजारको जागिर लगाई दिने भन्दै उनीहरुले १११ जनासँग प्रति व्यक्ति ६ हजार सात सय रुपैयाँ उठाएर बेपत्ता भएका पीडित कुसुमले बताइन् ।

उनीहरुले फर्म भरेका सबैलाई काठमाण्डौमा बोलाएर गएको पुस २५,२६ र २७ गते सीटीईभीटीको प्रमाणपत्र तीन महिनापछि आउँछ भन्दै तालिम दिएका थिए । त्यसपछि माघ १६ गतेदेखि सिन्धुलीका सबै गाँउपालिकाका वडामा खटाएर दुई महिनासम्म स्वास्थ्य सम्बन्धी तथ्यांक संकलनको काम लगाएको भए पनि कसैले अहिलेसम्म तलब नपाएको उनको गुनासो छ ।

उनले भनिन्, ‘दुई महिनासम्म फिल्डमै बसेर काम गरेको तलब पाउनु त कता हो कता ! प्रमाणपत्र पनि पाइएन, बरु काम लगाउने नै अहिले बेपत्ता छन् ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार नेटवर्क बनाएर ठगी गर्नेमध्ये हेमराज गुरुङलाई प्रहरीले पक्राउ गरी कार्बाही प्रक्रिया अघि बढाएको छ भने अन्य फरार छन् ।

पीडितको उजुरीका आधारमा प्रहरीको अनुसन्धानपछि जिल्ला तथा गाँउमै रोजगारी दिने भन्दै जिल्लाका १११ जना युवा युवतीहरुलाई ठगेको खुलेको छ । राम्रो तलब र सुविधासहितको जागिर हुने भन्दै फेसबुकबाट नेटवर्क बनाएर उनीहरुलाई ग्रीन क्लब नेपाल संस्थाको नामबाट ठगेको खुलेको हो ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले ठगी गर्नेमध्ये एक जनालाई पक्राउ गरी ठगी मुद्धा अदालतमा चलाई कार्बाही प्रक्रियाअघि बढाएको जानकारी दिएका छन् । ‘ठगी गर्ने चार जनामात्र नभई अरु पनि हुन सक्छन,’ उनले भने, ‘त्यस सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७