अब तालिम लिएको प्रमाणपत्र पेश नगरी विदेश जान श्रम स्वीकृति नपाइने, यी काममा प्रमाणपत्र अनिवार्य


१ जेष्ठ २०७६, बुधबार
bidesh

काठमाडौं, १ जेठ । आउँदो असार १५ गतेदेखि सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी विदेश जानका लागि अन्तिम श्रम स्वीकृति नपाइने भएको छ ।

१२ वटा काममा विदेश जान चाहने कामदारलाई पहिलो चरणमा सीप तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नदिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

हाउस वाइरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काममा विदेश जानका लागि सीप सिकेको प्रमाणपत्र बिना अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

न्यूनतम सीप सिकाएर मात्र कामदारलाई वैदेशिक रोजगारीमा कामदार पठाउने सरकारको नीति अनुसार अहिले यी काममा जाने कामदारलाई सीप सिकेको प्रमाणपत्र अनिवार्य गरिएको र विस्तारै यो व्यवस्थालाई कार्यान्वयन गर्दै जाने उनले बताएका छन् ।

सीप सिकेको प्रमाण भएका व्यक्तिको सीपको परीक्षण बोर्डले आफैं गर्नेछ । सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरेकाहरुको अनुभवको प्रमाणपत्र वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको यकिन गर्नुपर्ने छ ।

विदेशमा कुन काममा जाने हो त्यो सीप कानुन बमोजिम अनुमति प्राप्त तालिम प्रदायक संस्थाबाट लिन पनि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विदेश जान चाहने कामदारलाई न्युनतम सीप सिकाएर मात्र पठाउने उदेश्य अनुसार आउँदो वर्षदेखि सीप विकास तालिमलाई सबै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्ष्ण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने आवश्यक तयारी भइरहेको पनि विभागले जनाएको छ ।

bidesh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७