अब मोटरसाइकलको पछाडि बस्नेलाई पनि ‘एसओएस स्ट्याण्डर्ड’ को हेल्मेट अनिवार्य


५ जेष्ठ २०७६, आईतवार
Traffic Rajaswo

काठमाडौं, ५ जेठ । के तपाई मोटरसाइकलको पछाडि हेल्मेट नलगाई चढ्नु भएको छ ? अनि हेल्मेट बिना कसैलाई पछाडि चढाउँदै हुनुहुन्छ ? यदि हो भने अब त्यसरी मोटरसाइकलमा हुँइकिन नपाइने भएको छ ।

अब मोटरसाइकल र स्कुटरको पछाडि चढ्नेले पनि अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी थालेको छ ।

तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बस्ने मान्छेको हेड इन्जुरीले ज्यान जाने गरेको निष्कर्षसहित पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम ल्याउन लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिएका छन् ।

‘दुइपांग्रे सवारीमा चढ्ने दुवै जनाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौ । यातायात व्यवस्था ऐन २–३ महिनामा स्वीकृत हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउँछ,’ उनले भने । हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुनुपर्ने पन्तले बताएका छन् ।

विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ । केही महिनाअघि महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सघं र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये ९६ प्रतिशत मोटरसाइकल र स्कुटर सवार व्यक्ति हुने गरेको पन्त बताउँछन् । दुवै जाना ब्यक्तिले गुणस्तरको हेल्मेट लगाएको खण्डमा मृत्यु हुने सम्भावना कम हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७