नरैनापुर लागूऔषध तस्करी ‘ट्रान्जिट प्वाइन्ट’


९ जेष्ठ २०७६, बिहीबार
lagu padartha

नेपालगञ्ज, ९ जेठ । ३ जेठमा नरैनापुर गाउँपालिका ४ नरैनापुरको आँप बगैचामा लागेको शुक्रबारे हाटमेलामा भारतको श्रावस्ती जिल्ला पर्सा गाउँका देवीदिन विश्वकर्मा ३ किलो सात सय १४ ग्राम (पक्राउ पर्दा पाँच किलो भनिएको) चरेशसहित पक्राउ परे ।

उनलाई छुटाउन स्थानीय र भारतीयले प्रहरी चौकी घेरा हाले। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६५ राउण्ड हवाइ फायर गर्नु परेको थियो । पक्राउ परेका देवीदिन सामान्य कपडा व्यावसायी मात्र थिए । इलाका प्रहरी कार्यालय भगवानपुर मटेहियाका इन्चार्ज इन्सपेक्टर वीरेन्द्रवीर विश्वकर्मासँग देवीदिनले प्रारिम्भक बयानमा आपूmलाई चरेश कारोबारमा फसाइएको भनेका छन् । उनको बयानले लागू औषध कारोबारको नयाँ तथ्य खुलेको छ ।

यो हाट बजारमा झण्डै एक सय ५० व्यापारी सामान बेच्न आउनेमा अधिकांश भारतीय नै हुन्छन् । मेलाका ग्राहक भने भारतीय र नेपाली दुबै हुन्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको लागू औषध नियन्त्रण व्यूरोलाई नेपालका पहाडी जिल्लामा उत्पादित चरेश र अफिम भारतीय व्यापारीमार्फत कारोबार हुने गरेको सूचना आएको थियो। त्यही आधारमा व्यूरो टोलीले निगरानी राखेर पक्राउ गरेको थियो ।

इप्रका भगवानपुरका अनुसार दुई वर्ष अघि कटकुइँयामा ५ किलो चरेशसहित एक जना पक्राउ परेका थिए । कपडा व्यापारीको पसलबाट ठूलो परिणाममा चरेश पक्राउ परेपछि नरैनापुरलाई ट्रान्जिट प्वाइन्ट बनाएर लागू औषध कारोबार भइरहेको आशंका गर्न सकिन्छ । यी दुई घटनापछि प्रहरीको लागू औषध नियन्त्रण व्यूरो तस्करले चरेश र अफिम लैजाने सजिलो नाकाका रुपमा नरैनापुर प्रयोग भएको आशंकामा निगरानी गरिरहेका छन् ।

राप्ती पारीका साबिक ९ गाविसलाई अहिले सिंगो नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको केही वडामा सिमित गरिएको छ । जहाँ नेपाल प्रहरीका भगवानपुर इप्रका र नरैनापुर इप्रकाका साथै सुँइया, लक्ष्मणपुर, कालाफाँटा गंगापुर र फत्तेपुर प्रहरी चौकी छन् । जहाँ मुस्किलले ६० प्रहरी छन् । सशस्त्र प्रहरीले कट्कुँइया, नरैनापुर र गंगापुरमा सीमा सुरक्षाका लागि वीओपीका गरी ९० जना शसस्त्र प्रहरी छन् । यति ठूलो क्षेत्रफलका लागि सुरक्षाकर्मी पर्याप्त होइन ।

सशस्त्र प्रहरीका जिल्ला प्रमुख भेषबहादुर शाह कमजोर सुरक्षा अवस्थाका कारण नरैनापुरलाई तस्करी र अपराध गर्ने थलो बनिरहेकोमा चिन्तित छन् । उनले भने, ‘सीमावर्ती गाउँसम्म सडक सुविधा छैन । चाहेर पनि सुरक्षा व्यवस्था गर्न गाह्रो छ ।’

भारतीय व्यापारी देवीदिन पक्राउ परेपछि प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ लाई चार घण्टा स्थानीय र भारतीयले घेराबन्दीमा पारेका थिए । उनले नरैनापुरमा सुरक्षा व्यवस्था कमजोर भएको नेपालगन्जमा पत्रकार सम्मेलनमा बताएकी थिइन् ।

नरैनापुरमा रोशनपूर्वा, मतनियाँ, घरदौडिया जस्ता गाउँहरु नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै छन् । जहाँ दुबैतिर आँगनमै जंगेपिलर छन् । यस्ता ठाउँमा सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई हम्मेहम्मे भइरहेको छ । जसको फाइदा तस्करहरुले लिइरहेको प्रहरी बताउँछ ।

नेपाल प्रहरीको लागू औषध व्यूरो नेपालगञ्ज शाखाका इन्सपेक्टर वीरबहादुर थापा नरैनापुर र नेपालगञ्जमा नियन्त्रणमा लिइने लागू औषध गाँजा, चरेश र अफिम पहाडी जिल्लाबाट आउने बताउँछन् ।

उनका अनुसार प्रदेश ५ का रुकुम, सल्यान, रोल्पाका साथै कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, कालीकोट लगायतका जिल्लामा व्यवसायिक खेती गरी मुख्य बजार भारत हुने गरेको छ । प्रहरी अहिले ती जिल्लामा व्यवसायिक खेती नष्ट गरिरहेको इन्सपेक्टर थापाले प्रष्ट पारे ।

गत भदौको पहिलो साता दाङको अमिलियामा प्रहरीले ६० किलो र गत फागुनमा दाङमै ३५ किलो चरेश नियन्त्रणमा लिएको थियो । चरेशसहित पक्राउ पर्नेमा रुकुम, सल्यान र रोल्पाका व्यक्ति थिए । उनीहरुले चरेश भारतमा बेच्न लैजाने गरेको बताएका थिए ।

बाँके जिप्रका आउनु अघि दाङको तुलसीपुरमा काम गरेका बाँकेका निमित्त प्रहरी प्रमुख डीएसपी प्रकाश सापकोटा पहाडी जिल्लाबाट गाँजा, चरेश र अफिम भारततिर र भारतबाट ब्राउन सुगर, ट्याब्लेट जस्ता लागू औषधको कारोबार हुने गरेको बताउँछन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७