हत्याको धम्की दिएर व्यवसायीसँग फिरौती माग्ने प्रेमी-प्रेमिका पक्राउ


१० जेष्ठ २०७६, शुक्रबार
firauti 1

काठमाडौं, १० जेठ । छोराको अपहरण गरेर गोली हानी हत्या गर्ने धम्की देखाउँदै एक औषधि व्यवसायीसँग फिरौती माग्ने प्रेमी–प्रेमिका पक्राउ परेका छन् ।

अपरहणपछि हत्या गर्ने धम्की दिएर फिरौती मागेको आरोपमा प्रहरीले कैलालीका २४ वर्षीय लोकेन्द्रबहादुर शाही र २० वर्षीया रुबी ठाकुरलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका उनीहरु प्रेमी–प्रेमिका हुन् ।

ठाकुरको योजनामा उनका प्रेमी शाहीले काठमाडौंको बुद्धनगरका औषधि व्यवसायी सीताराम कार्कीलाई धम्क्याएका थिए । ‘शाहीले कार्कीसँग ५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरेर गोली हानी हत्या गर्ने धम्की दिएको उजुरी परेको थियो’, महाशाखाका एसपी केदार ढकाल भन्छन् ।

कार्कीले दिएको उजुरीको आधारमा अनुसन्धान गरेर दुवैलाई गौशालाबाट पक्राउ गरिएको ढकालको भनाइ छ । अनुसन्धान अधिकारीका अनुसार ठाकुरको कार्कीसँग पहिल्यैदेखि चिनजान थियो । उनले रकम हात पार्न प्रेमीलाई प्रयोग गरेकी थिइन् । प्रहरीले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीम कार्ड पनि बरामद गरेको जनाएको छ । थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७