बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय गिरोह पक्राउ, ५० बालबालिकाको यसरी गरियो उद्धार


१० जेष्ठ २०७६, शुक्रबार
Interpol 1

काठमाडौं, १० जेठ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ गरेको छ ।

इन्टरपोलले लामो अनुसन्धानपछि गिरोहका नौ जना सदस्यलाई थाईल्यान्ड, अस्ट्रेलिया र अमेरिकाबाट पक्राउ गरेको छ । गिरोहका सदस्य पक्राउ परेपछि तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका इन्टरपोलले जनाएको छ। सो गिरोहबाट एक सयभन्दा बढी बालबालिका पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कसरी पत्ता लाग्यो गिरोह
इन्टरपोलले एउटा गोप्य वेबसाइटमा १३ वर्षमुनिका ११ जना बालकको तस्बिर राखिएको भेटाएपछि सन २०१७ देखि सो बारे अनुसन्धान थालेको थियो ।

Interpol Meeting

प्रहरीका अनुसार दुराचारीहरुले ‘डार्क वेब’ भनिने इण्टरनेटमा आधारित सञ्जालभित्र हप्तैपिच्छे त्यस्ता दृष्य अपलोड गर्थे । झन्डै ६३ हजार प्रयोगकर्ता भएको ‘डार्क वेब’मा भएका वेबसाइट र तिनका सामग्रीलाई प्रचलनमा भएका सर्च इन्जिनहरूले भेट्न सक्दैनन् ।

‘अपरेशन ब्ल्याकरिस्ट’ नामक अभियानमार्फत चलाएर शुरु गरिएको अभियानमा अमेरिकाको होमल्यान्ड सिक्युरिटी इन्भेस्टिगेशन्स विभागले दुर्व्यवहार भएकाहरूको तस्बिर र भिडिओ राखिएको सो वेबसाइटको आईपी ठेगाना पत्ता लगाएको थियो ।
१४६ वर्ष जेल

आईपी ठेगानाको आधारमा इन्टरपोलले खोजी गर्दै जाँदा वेबसाइटका प्रमुख एड्मिनिस्ट्रेटर मोन्ट्री सालान्गाम गत वर्ष थाईल्यान्डमा पक्राउ परे । त्यसको केही समयपछि रुएचा टोक्पुट्जा नामक अर्का व्यक्ति अस्ट्रेलियामा समातिए ।

आफ्नै नातेदारलाई शोषण गर्ने सालान्गामलाई थाईल्यान्डमा १४६ वर्षको जेल सजाय सुनाइयो। शिक्षण पेसामा संलग्न अर्का अभियुक्तले ३६ वर्षको सजाय पाए ।

अस्ट्रेलियामा शुक्रवार भएको आदेशमा टोक्पुट्जालाई ११ शिशु तथा बालकसँग दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै ४० वर्षको जेल सजाय सुनाइयो । बाल यौन दुराचारको मुद्दामा अस्ट्रेलियामा दिइएको यो सबैभन्दा लामो सजाय हो ।

प्रहरीले टोक्पुट्जाका विद्युतीय उपकरणमा थाईल्यान्ड र अस्ट्रेलियामा खिचिएका हजारौँ तस्बिर फेला पारेको छ। तीमध्ये केहीमा उनी आफैँले दुर्व्यवहार गरेको देखिएको थियो ।

बालबालिकाको पहिचान गर्न गाह्रो

तीन जना बाहेक पक्राउ परेका अन्य व्यक्तिको भने परिचय सार्वजनिक गरिएको छैन । तर तीमध्ये केही अमेरिकामा भएको र सार्वजनिक पद धारण गरेको व्यक्ति भएको अमेरिकी सरकारका ब्याङ्ककस्थित प्रतिनिधि एरिक म्याक्लक्लिनले बताए ।

प्रहरीले फेला पारेका दृष्यहरुमा बालबालिकाको अनुहार छोपिएको हुनाले अनुसन्धानकर्तालाई पीडितहरू को हुन् भनेर पत्ता लगाउन समस्या भएको बीबीसीले जनाएको छ । पीडितमध्ये १५ महिने शिशु पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७