चोरलाई झुक्याउन नक्कली फोन


१२ जेष्ठ २०७६, आईतवार
Mobile Internet 1
सांकेतिक तस्वीर

काठमाडौं, १२ जेठ । लुटपाटको घटना अत्याधिक वृद्धि भएपछि मेक्सिकोको राजधानीमा स्थानीयहरुले यसको सामना गर्न अनौठो उपाय अपनाइरहेका छन् ।

अपराधीहरु विशेष गरी व्यक्तिको मोबाइल फोनको पछि लाग्ने गरेको हुँदा चोरलाई सुम्पिनकै लागि मानिसहरुले हुबहु देखिने नक्कली फोन खरिद गर्न शुरु गरेका हुन् । यसरी अहिले थुप्रै बजारहरुमा गोप्य रुपमा १८० देखि ८०० पेसो सम्मका नक्कली फोनहरु विक्री भइरहेका छन् ।

विशेष गरी सार्वजानिक सवारीमा यात्रा गर्दा वा एकाबिहान वा राति पैदल यात्रा गरिरहेका मानिसहरु लुटेराको शिकार हुने गरेका छन् । यस्तोमा फोनका साथै त्यस भित्रका डाटा सुरक्षित राख्न मानिसहरुले चोरलाई झुक्याउन यो तरिका अपनाउन थालेका हुन् ।

यसरी सो फोनको स्क्रिन वास्तविक मोबाइल जस्तै हुन्छ भने त्यस भित्र राखिएको धातुले यसको तौल पनि असली फोनको जस्तै बनाई दिन्छ । यसरी राजधानी मेक्सिको सिटीमा हुने गरेका चोरीका घटना पछिल्लो समय सामाजिक संजालमा पनि भाइरल भइरहेका छन् ।

बस लगायत सडकका विभिन्न ठाउँमा जडान गरिएका सिसिटिभी क्यामरामा त्यस्ता अपराधिक घटना प्रशस्तै रेकर्ड हुने गरेका छन् । जसमा लुटेराहरुले बन्दुक देखाउँदै पैसा र मोबाइल फोन दिन भनि धम्क्याउने गरेको देख्न सकिन्छ ।

यसबीच कसैले उनीहरुले भनेको नमानेमा पेस्तोलले तिनको टाउकोमा प्रहार गर्ने र कतिपय अवस्थामा गोली समेत चलाउने गरेको पाइएको छ जसपछि पीडितहरु बसको भुईँमा रगताम्मे अवस्थामा फेला पर्ने गरेको बताइन्छ ।

यसकारण पनि त्यहाँका स्थानीय डराइ डराइ जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । त्यहीँकी एक स्थानीय शिक्षिका, मार्था पाट्रिका रोसिल्स, जो आफैँ पनि धेरै पटक लुटिएकी छन्, भन्छिन्, ‘हामीले पैसाबारे सबैभन्दा सावधानी अपनाउनु पर्छ किनकी यदि उनीहरुले मागेका बेलामा हामीले पैसा बोकेका छैनौँ भने चोरहरुले रिसाएर गोली चलाई दिन सक्छन् ।’

यसरी मेक्सिकोमा २०१९ का सुरुवाती चार माहिनामा मात्र दिनदिनै हुने यस किसिमका ७० भन्दा धेरै हिंसात्मक अपराधका घटना रिपोर्ट गरिएको छ । यसमध्ये दुई तिहाइ बाटोमा हिंडिरहेका बेला हुने र यसपछि बस लगायत सार्वजानिक सवारीमा हुने गरेको बताइएको छ । २०१७ र १८ का बीच मात्र मेक्सिकोमा अपराधका घटना २२ प्रतिशतले वृद्धि भएको छ ।

तर नक्कली फोन बोक्नुका पनि आफ्नै जोखिम रहेको यसका विक्रेता एलेक्स बताउँछन् जसले आफ्नो पूरा नाम नखुलाउने बताएका हुन् । उनका अनुसार यदि नक्कली फोन दिँदै गर्दा चोरले थाहा पायो भने पीडित ठूलो खतरामा पर्न सक्छन् ।

त्यसैकारण कतिपय मानिसले दुई वटा फोन बोक्ने गरेको उनी बताउँछन् – एउटा वास्तविक प्रयोजनका लागि र अर्को एकदमै सस्तो मुल्यमा लुटेराहरुलाई सुम्पिनका लागि । यसरी पछिल्लो १४ वर्षदेखि त्यहाँ नक्कली फोन विक्री हुँदै आएको अर्की एक विक्रेता बताउँछिन् । तर पहिले त्यसको प्रयोग स्मार्टफोन फर्मममा प्रदर्शनका लागि हुने गरेको र पछिल्लो समय मात्र यसलाई चोरबाट बच्ने साधनका रुपमा प्रयोग गर्न थालिएको उनले बताइन् । डेलीमेलबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७