टोललाई प्लाष्टिकमुक्त बनाउन बालबालिकादेखि वृद्धवृद्धासम्म जुट्दै (फोटो फिचर)


१८ जेष्ठ २०७६, शनिबार
2

बेलबारी, १८ जेठ । पोलेथिनको झोला प्रयोग गर्न जति सजिलो छ, यसको असर कम गराउन उतिकै कठिन छ । यहि कुरा बुझेपछि अहिले मोरङ बेलबारी–३ का बासिन्दा टोललाई प्लाष्टिकमुक्त बनाउने अभियानमा जुटेका छन् ।

विगतमा जता पायो त्यतै प्रयोग गरेका प्लाष्टिक फ्याँक्ने बेलबारी–३ सुन्दर टोलका बासिन्दा अहिले जहाँ प्लाष्टिक भेटियो संकलन गरेर उचित व्यवस्थापन गर्छन् । अहिले यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्मले प्लाष्टिकजन्य फोहोरको असर बुझेका छन् । सुन्दर टोल विकास संस्थाले पहिलो चरणको सरसफाई तथा प्लाष्टिक निषेधित क्षेत्रका कार्यक्रम सकेको छ । अभियानका क्रममा सयौंको संख्यामा स्थानीय टोल सरसफाइमा जुटेका छन् ।

शनिबार सुन्दर टोलको आयोजनामा भएको सफाइ कार्यक्रमको उद्घाटन टोलका ज्येष्ठ नागरिकले प्लाष्टिक प्रयोग निषेध गरौं लेखेको स्टिकर टाँसेर शुरु गरेका थिए । सरफाइ तथा स्टिकर टाँस्ने कार्यक्रम नगरपालिका कार्यालय भवनबाट शुरु भएर टोलको परिक्रमापश्चात सोही स्थानमा कोण सभामा परिणत भएको थियो ।

कोण सभामा टोल विकास संस्थाको आमा समूहकी सल्लाकार संयोजक सकुन्तला सुबेदी र टोल उपभोक्ता समितिका अध्यक्ष शालिकराम ढकालले भौतिक विकासका कार्य र आर्थिक गतिविधिबारे जानकारी गराएका छन् ।

सुन्दर टोल विकास संस्थाका अध्यक्ष खनेन्द्रकुमार राईले कोण सभालाई सम्बोधन गर्दै एक ब्यक्तिको घर मात्र सफा बनाउने नभई सिङ्गो नगरपालिका सफा गर्ने सोंचका साथ सरसफाइ अभियान अगाडि बढाउनु पर्ने बताए । उनले फोहोरको समस्याका कारण उत्पन्न हुने रोग एउटा टोल र गाउँको मात्र नभई सिङ्गो नगर र जिल्लाको हुने भएकाले अभियानलाई विस्तार गर्दै लैजानु पर्ने बताए ।

प्लाष्टिकमुक्त अभियानको तेस्रो चरणको सरफाई कार्यक्रमसम्म आई पुग्दा स्थानीयको सक्रियता बढ्दो पाइएको र टोलहरु सफा बन्दै गएको पनि उनले बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष राईले सुन्दर टोलभित्रका शैक्षिक स्थलमा सुर्तिजन्य र मदिराजन्य वस्तु किनबेचमा पूर्ण प्रतिबन्ध लगाउनुका साथ सार्वजनिक स्थलहरुमा समेत यस्ता वस्तु निषेध गरिएको पनि जानकारी गराए । सरसफाइ र मदिरा निषेधित टोल निर्माणमा स्थानीयको सहयोग र एक सोंच रहेकाले अभियान प्रभावकारी बन्दै गएको पनि अध्यक्ष राईले बताए ।

हेर्नुस् तस्विरहरु

6
5
4
3
1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७