मध्यमोदी जलविद्युतले झेल्दै आएको महिना दिनदेखिको अवरोध हट्यो

स्थानीयको माग पूरा गर्न आयोजना सहमत भएपछि काम सुचालु


२० जेष्ठ २०७६, सोमबार
middle modi

हेटौडा, २० जेठ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।

चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो ।

गएको शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनर्निर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पलेझै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

छलफलका क्रममा स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्व्विद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकम आयोजनाले तत्काल दिने सहमति भएपछि काम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । आयोजनाले क्षतिपूर्तिको रकम दिन ढिलाइ गर्दा आन्दोलन भएको थियो ।

पीडित परिवारको घरसमेतको स्थलगत अनुगमनपछि छलफल गरेपछि काम शुरु गर्न दिने सहमति स्थानीयले जनाएका हुन् । यसैगरी क्षति पुगेका छ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपूर्तिको रकम बुझेको बताइएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् ।

घर पुनर्निर्माणको काम स्वयम्ले शुरु गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति यसअघिनै भए पनि आयोजनाले रकम दिन ढिलाइ गरेका कारण स्थानीयले पुनः आन्दोलन गरेका थिए ।

आयोजनाको काममा आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनर्निर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तर दायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भए पनि काम नभएका कारण पुनः ताकेता गरिएको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहरवी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७