अब राजपा एकल नेतृत्वमा जाने, अध्यक्षका लागि महतो र ठाकुर भिड्दै

२५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय


२४ जेष्ठ २०७६, शुक्रबार
mahanta thakur and rajendra mahatto

-सन्तोष साह
काठमाडौं, २४ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) आगामी महाधिबेशनबाट एकल नेतृत्वमा जाने भएको छ । बिधान संशोधन गर्दै निर्वाचनमा होमिएको राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका छन् ।

पार्टीको बिधान संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था छ । यसअघि वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा त्यसलाई खारेज गर्दै आगामी महाधिबेशनबाट एकल नेतृत्वमा पार्टी जान लागेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका पूर्व संयोजक शरतसिंह भण्डारीले एकता महाधिबेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्ष प्रणालीको व्यवस्था हुने बताए । २८, २९ र ३० कार्तिकमा एकता महाधिबेशन गर्ने निर्णय पार्टीले गरेको छ ।

पार्टी बिधानको ‘धारा ३१ (१२) मा यसअघि महाधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकामा अब उप्रान्त महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा अगाडि बढने व्यवस्था हुनेछ’ भन्ने संशोधन भईसकेको छ ।

७ बैशाख २०७४ मा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका बिभिन्न ६ मधेसवादी दलका बीचमा एकीकरण भई राजपा नेपालको घोषणा भएको थियो । ती ६ वटै दलका संयोजकहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा क्रमशः अध्यक्ष मण्डलको संयोजक हुँदै आएका छन् । अहिलेसम्म पार्टी चक्रीय प्रणाली अनुसार आलैपालो अध्यक्ष हुने व्यवस्था रहेकोमा महाधिबेशन पछि पार्टी एकल नेतृत्व जाँदैछ ।

महाधिवेशनबाट एकल नेतृत्वमा जाने निश्चित भएपछि राजपा नेपालभित्र आगामी अध्यक्षका लागि प्रतिष्पर्धा शुरु भएको छ । आगामी महाधिबेशनबाट अध्यक्षका लागि महतो र ठाकुरले आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।

‘राजपाले महाधिवेशनपछि एकल नेतृत्वमा जाने गरी विधान संशोधन गरेपछि अध्यक्षका लागि महन्थ ठाकुर र राजेन्द्र महतोबीच नै प्रतिष्पर्धा हुने हो,’ राजपाका एक नेताले भने, ‘महतोमा एकीकृत पार्टीको अध्यक्ष बन्ने तीव्र महत्वकांक्षा छ भने ठाकुर सबैको स्वीकार्य नेता भएका कारण उहाँको इच्छा हुनु स्वभाविक नै हो ।’

उमेर, शारीरिक अवस्था तथा पार्टीलाई गति दिने सवालमा ठाकुरले नेतृत्व गर्न नसक्ने भन्दै महतोले महाधिबेशनबाट अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । उमेर, शारीरिक अवस्था तथा संगठनलाई गतिशिल बनाउन आफूले सक्ने बताउँदै महतो कार्यकर्ता माझ प्रस्तुत भईरहेका छन् ।

‘स्वास्थ्य, सक्रियता तथा पार्टीलाई गतिशिल बनाउन राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न राजेन्द्र महतोको बिकल्प छैन’ महतो निकट एक नेताले भने, ‘पार्टीलाई गतिशिल बनाई मजबुत बनाउने हो भने महतोजीलाई कार्यकारी अध्यक्ष बनाउनु पर्छ ।’

यद्दपी सबैलाई मिलाएर लैजान सक्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले समेत विश्वास गर्ने नेता भएकाले महाधिवेशनपछि पनि ठाकुरलाई नै अध्यक्ष बनाउनु पर्ने चर्चा रहेको छ । ठाकुर निकटका नेताहरु एकता महाधिबेशनपछि सर्वसहमत ठाकुरलाई नै अध्यक्ष बनाउने कसरतमा जुटेका छन् ।

‘महन्थ ठाकुरलाई पद र पैसा चाहिँदैन र तर, उहाँलाई शक्ति त चाहिन्छ नि’, ठाकुर निकट एक नेताले भने, ‘उहाँ सरकारमा सहभागी भएर मन्त्री बन्ने लाइनमा हुनुहुन्न । भोलि सरकारमा सहभागी हुने अवसर आयो भने पनि ठाकुरजी सरकारमा सहभागी हुनुहुन्न । उहाँ पार्टीको कार्यकारी भएर बस्न चाहने नेता हो ।’

राजप नेपालमा अन्य चार जना पनि अध्यक्ष मण्डलका सदस्य छन् । महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव भने अध्यक्षको दाबेदार होइनन् । यद्दपी सार्वजनिक रुपमा महतो र ठाकुरले अध्यक्षको दावी गरेका छैनन् । तर कार्यकर्ता माझ प्रस्तुत हुँदा आफू नै अध्यक्ष हुनुपर्ने र सहयोग गर्न कार्यकर्तालाई तानिरहेका छन् ।

लामो समय कांग्रेसको राजनीति गरेका ठाकुरलाई निष्ठावान र इमान्दार नेताको रुपमा लिइन्छ । कांग्रेसको राजनीतिबाट मधेस केन्द्रित दलको राजनीतिमा प्रवेश गरेका ठाकुरले आफू मधेसी जनताको हक र अधिकारका लागि संघर्षरत रहेको बताउने गरेका छन् ।

गत निर्वाचनमा पूर्व सद्भावना पार्टी पक्षधरले धेरै सिट जितेको, संगठन गर्न सक्ने र आफ्ना मागलाई स्पष्ट रुपमा राख्न सक्ने भन्दै राजेन्द्र महतो नै महाधिवेशनपछि अध्यक्ष हुनुपर्ने पक्षमा छन् ।

‘यो विषयमा अहिले नै टिप्पणी गर्नु हतार हुन्छ,’ महतो निकट एक नेताले भने, ‘सकेसम्म सहमतिमै अध्यक्षको निर्णय हुने हो । सहमति भएन भने निर्वाचनमार्फत राजेन्द्र महतोलाई नै कार्यकर्ताले अध्यक्षको रुपमा चयन गर्ने निश्चित छ ।’

बिधान मस्यौदा समितिको प्रस्ताव यस्तो छ :-

राजपा नेपालले गठन गरेको बिधान मस्यौदा समितिले बिधानको प्रस्ताव अध्यक्ष मण्डललाई बुझाएको छ । लक्ष्मणलाल कर्णको अध्यक्षतामा रहेको मस्यौदा समितिले २५ पदाधिकारीसहितको १७१ सदस्यीय केन्द्रीय कमिटी रहने बिधान तयार गरी अध्यक्ष मण्डललाई बुझाएको छ ।

अध्यक्ष एक, उपाध्यक्ष सात, महासचिव तीन, उपमहासचिव सात सचिव तीन, कोषाध्यक्ष एक, प्रवक्ता तीन र आवश्यकता अनुसार वरिष्ठ नेता राख्ने प्रस्तावमा उल्लेख छ । पदाधिकारीसहित १७१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था रहने छ । अध्यक्षले केन्द्रिय सदस्य संख्याको ३० प्रतिशत सदस्य मनोनित गर्न सक्ने प्रस्ताव गरिएको छ ।

तर, मनोनितको बिषयमा समितिका सदस्यहरुबीच नै फरक मत छ । समितिका मालामति राना थारु, हरेन्द्र यादव, राजकुमार थापा, रामलाल सुतिहार, मानध्वज ब्लोन तामाङ्ग, अकबाल अहमदले ३० प्रतिशत नभई ५ प्रतिशत मनोनित गर्न पाउनु पर्ने फरक मत राखेका छन् ।

पाँच प्रतिशत मनोनित गर्दा अध्यक्षले नभई केन्द्रीय कमिटीले मनोनित गर्न पाउने मत यिनीहरुको रहेको छ । साथै निर्वाचन गर्दा होस् वा मनोनित गर्दा सबै जात, धर्म, लिङ्ग, समुदायलाई कलष्टर छुटयाउनु पर्ने व्यवस्था हुनुपर्ने भन्दै फरक मतसहितको प्रतिवेदन बुझाएका छन् ।

तर, समितिका संयोजक कर्ण सदस्यद्धय सर्वेन्द्रनाथ शुक्ला, केशव झाले ३० प्रतिशत मनोनित अध्यक्षले गर्न पाउने, निर्वाचन वा मनोनित गर्दा कलष्टर छुट्याउनु नपर्ने मतसहितको प्रतिबेदन बुझाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७