नेपाल-बेलायतबीच संयुक्त वक्तव्य : गोरखाहरुको विषयमा छलफललाई निरन्तरता दिइने


३० जेष्ठ २०७६, बिहीबार
PM KP oil and PM UK
तस्बिर : चिरन शर्मा/बेलायत

काठमाडौं, ३० जेठ :  नेपाल र बेलायतबीच गोरखा सैनिकहरुको विषयमा छलफललाई निरन्तरता दिने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणको अन्तिम दिन बिहीबार जारी संयुक्त वक्तव्यमा गोरखा सैनिकहरुको बिषयमा छलफललाई निरन्तरता दिने उल्लेख गरिएको हो ।

प्रधानमन्त्री ओलीको (जेठ २७–२९) को बेलायत भ्रमणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला राज्यमन्त्री जेरेमी हन्टले संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन गोरखा सैनिकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै छलफल जारी राख्ने सहमति भएको जानकारी दिइएको छ ।

बिहीबार लण्डनबाट जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘बेलायतको विदेश तथा कमनवेल्थ कार्यालय र नेपालको परराष्टमन्त्रालय बेलायतमा लामो समयदेखि गोरखाहरुले उत्कृष्ट सेवा गर्दै आएको स्वीकार गर्दछन् । दुवै पक्ष  गोर्खाहरु दुई पक्षीय सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण सम्पर्क सूत्र हुन् भन्ने कुरालाई मान्यता दिन्छन् । दुवै पक्ष गोर्खाका विषयमा छलफललाई निरन्तरता दिएर अघि बढ्न सहमत छन् ।’ Gurkha Nepal and UK

२८ जेठ २०७६ मा ब्रिटिश प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’मा समकक्षी प्रधानमन्त्री टेरिजा मेसँगको भेटमा प्रधानमन्त्री ओलीले बेलायत, भारत र नेपालीबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राखेका थिए ।

केवल गोरखा बटालियनहरुको बाँडफाँड, भर्ती प्रक्रिया र भर्ती केन्द्रबारे केन्द्रित यो सम्झौता गोरखाहरुको लागि अन्याय र अपमानपूर्ण रहेको गोरखाहरुले बताउँदै आएका छन् । अब बेलायत र नेपालीबीच गोरखाहरुको बिषयमा वार्ता र सहमति हुनुपर्ने गोरखाहरुको माग छ ।

यही सम्झौताले घुमाउरो तरिकाले गोरखा सैनिकहरुलाई तलब र पेन्सनमा असमान व्यवहार गर्ने बाटो खोलेको उनीहरुको भनाई छ । प्रधानमन्त्रीको यो प्रस्तावलाई निकै महत्पूर्ण रुपमा लिइएको छ ।

दुवै पक्षबीच व्यापार र लगानी बढाउने सहमति भएको छ । नेपालको आर्थिक विकासमा सबैभन्दा ठूलो द्धिपक्षीय दाता बेलायत भएको भन्दै बेलायतले नेपालको विकासमा थप सहयोग गर्ने बचन दिएको छ । सन् २०३० देखि कम विकसित अवस्थाबाट माथि जाने नेपालको लक्ष्यमा साथ दिने बेलायतले जनाएको छ ।

बेलायतको डिएफआइडीले भू–कम्पपछि पुन र्निर्माणलगायत नेपालको आर्थिक विकासमा गरेको योगदानलाई नेपालले धन्यवाद दिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

दुबै देश नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’ एजेण्डा प्राप्तिका लागि व्यापार तथा लगानी सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको उल्लेख छ । छलफलका क्रममा बेलायत नेपालको ठूलो दातृ राष्ट्र भएकोमा सहमत हुँदै नेपालले लगानीको थप वातावरण बनाउने विषयमा सहमत भएको छ । साथै बेलयतले पनि आफ्ना देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्न सहमत भएको छ ।

संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदका सदस्यसमेत रहेका दुबै देशले अन्तर्राष्ट्रिय मूल्य र मान्यताहरु अनुरुप मानवअधिकारको रक्षा तथा संरक्षण गर्ने प्रतिवद्धतासमेत गरेका छन्। त्यस्तै दुबै देशहरु मानव तस्करीको समस्या समाधानका लागि ध्यान दिने विषयमा सहमत भएका छन्।

नेपालले महिला तथा बालबालिकाको बेचबिखन सम्बन्धी राष्ट्र संघीय प्रोटोक पालेर्मो प्रोटोकललाई यसै वर्ष अनुमोदन गर्ने लक्ष्य राखेको प्रति वेलायतको विदेश मन्त्रालयले स्वागत गरेको छ। साथै यस मुद्दामा नेपालमा डीएफआईडीको कामसँगै मिलेर काम गर्ने सहमतिसमेत भएको वक्तव्यमा उल्लेख छ।

यसैगरी बेलायत र नेपाल दुबैले अभिव्यक्ति स्वतन्त्रता र मिडिया स्वतन्त्रता प्रति प्रतिवद्धता जनाएका छन् । बेलायत र क्यानडाले यसै वर्ष संयुक्त रुपमा मिडिया फ्रिडम कन्फ्रेन्स आयोजना गर्न लागेको जानकारी गराउँदै बेलायतले नेपालको प्रतिनिधित्वको लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७